शनिबार केही सञ्चारकर्मीले नेकपा एमालेका अध्यक्षसमेत रहेका झापा क्षेत्र नम्बर ५ का उम्मेदवार केपी शर्मा ओलीलाई प्रतिस्पर्धी पार्टीका लिडरसँग खासगरी भावी प्रधानमन्त्री भनेर प्रचार गरिएका नेताहरू राष्ट्रिय स्वतन्त्र पार्टीका सोही क्षेत्रका उम्मेदवार बालेन्द्र साह (बालेन) र नेपाली कांग्रेसको तर्फबाट सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार गगनकुमार थापासँग ‘पब्लिक डिबेटका लागि तयार हो ?’ भनेर प्रश्न गरे । तत्कालै ओलीले त्यसका लागि आफू तयार भएको प्रतिक्रिया दिए ।
भोलिपल्ट बिहान अर्थात् आइतबार बिहान ओलीले आफ्नो फेसबुक पेजबाट ‘पब्लिक डिबेटका लागि तयार छौँ’ भन्ने अभिव्यक्ति सार्वजनिक गरेर एक/दुई जनासँग मात्र होइन चुनावपछि प्रधानमन्त्रीको उम्मेदवारमा प्रस्तुत भएका सबैलाई त्यसमा ल्याउनुपर्ने भनेर भावी प्रधानमन्त्री भनेर प्रचारित नेकपाका प्रचण्ड र राप्रपाका राजेन्द्र लिङ्देनसम्मलाई सिधा प्रश्न सोध्न खडा गरिएको मञ्चमा उभ्याउनुपर्ने र सबैले आफ्ना एजेन्डा राख्नुपर्ने साथै आफू पनि जवाफ दिन र एजेन्डा राख्न तयार रहेको भनेर प्रतिबद्धता जनाए ।
सधैँ विपक्षीप्रति कटाक्ष गर्ने नेताको छवि बनाएका ओलीले पब्लिक डिबेटको विषयमा भने स्टाटसमा सभ्य भाषा प्रयोग गरेर ‘देशको नेतृत्व गर्न खोज्ने दलहरूका एजेन्डा के छन्, देश निर्माणमा यसअघि के काम गरे, अब गर्ने कामको रोडम्याप, योजना र खाका के छ ?
सार्वजनिकरूपमा उठेका यस्ता प्रश्नहरूमा आमने–सामने बहसको माग अत्यन्त सकारात्मक छ । यस्तो पब्लिक डिबेटमा आमने सामने उभिएर यसअघि हामीले के–के गर्यौँ भन्ने तथ्य र अब कसरी काम गर्छौँ भन्ने एजेन्डा प्रस्तुत गर्न म तयार छु’ भन्नु आम नागरिकका लागि चासोको विषय हो । किनकि ओलीमाथि भदौ २३ गते भएको प्रदर्शनमा दमन गरेको आरोप छ । उनले यस विषयमा सरकारले गठन गरेको छानबिन आयोगमा पनि लिखित जवाफ पेस गरेका छन् । जब डिबेट हुन्छ त्यसमा प्रतिस्पर्धीहरूले भदौ २३ र २४ गतेको घटनाको बारेमा सिधा प्रश्न गरेर उनलाई जनताको भावनाअनुसारको प्रश्न गरेर सार्वजनिकरूपमा नङ्ग्याउनेछन् । आफूमाथि गरिने जुनसुकै प्रश्नको पनि उत्तर दिन पूर्वशासक तयार हुनु नराम्रो होइन । उनै ओलीले छानबिन आयोगमा बयान दिन त्यति ठूलो आलटाल गरेका थिए । अहिले चुनावको मुखमा त्यसको जवाफ एउटा अँध्यारो कोठामा होइन, सार्वजनिकरूपमा लाखौँ होइन कराडौँ मानिसका अगाडि दिन तयार देखिनु सकारात्मक नै हो ।
तर, ओलीको स्टाटसलाई कमेन्ट गर्ने क्रममा ओलीको क्षेत्रका विभिन्न प्रतिस्पर्धीमध्ये एक बालेनले पब्लिक डिबेट सिधै अस्वीकार मात्र गरेनन्, ओलीलाई ७६ जना बच्चाको हत्यारा भएको आरोप लगाउँदै ‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ’ भने । बालेनले ओलीलाई हत्यारा र अर्का भावी प्रधानमन्त्रीका उम्मेदवार भनेर कांग्रेसद्वारा प्रचारित गगनकुमार थापालाई मतियारको रूपमा संकेत गरे । त्यतिबेला मुख्यरूपमा कांग्रेस र एमालेको सरकार थियो ।
ओलीसँग पब्लिक डिबेटका लागि मञ्च सेयर गर्दिनँ भन्ने रास्वपाका उम्मेदवार साह भने उनै ओलीसँग एउटै क्षेत्रमा प्रतिस्पर्धामा छन् अर्थात क्षेत्र सेयर गरेर चुनाव उठेका छन् । सेयर नै नगर्ने हो भने बालेनले ओलीसँग एउटै क्षेत्रमा प्रतिस्पर्धा गर्नु नै हुने थिएन । चुनावमा एउटै क्षेत्रमा भएपछि प्रतिस्पर्धीका प्रत्येक आरोपको खण्डन गर्नैपर्छ । त्यो खण्डन बालेनले पब्लिक डिबेटमा गर्दा संसारभरबाट ताली र गाली मिल्नेछ । अनि मात्र बालेनको ‘लिडरसिप’ देखिने थियो । तर, बालेनले एकतर्फीरूपमा ओलीलाई जुन हत्याराका आरोप लगाएका छन् त्यो पुष्टि भएको छैन । केबल ओलीप्रति घृणा फैलाउने काम मात्र हो । सरकारले गठन गरेको छानबिन आयोगले पनि प्रतिबेदन सरकारलाई बुझाएको छैन । सरकारलाई बुझाएपछि पनि त्यसलाई औपचारिकरूपमा सार्वजनिक गर्नुपर्छ । त्यो प्रतिवेदनमा के भनिएको छ त्यसको बारेमा पनि थप समर्थन वा आलोचना हुन्छ । तर, अहिले सबैतिर भन्ने गरिएको एउटा कुरा के हो भने, तत्कालीन सरकारको नेतृत्व गरेको कारण भदौ २३ गतेको घटनाको नैतिक जिम्मेवार त्यो सरकारले लिनुपर्छ । नैतिकरूपमा जिम्मेवार हुँदैमा कानुनीरूपमा दण्डित हुनुपर्छ नै भन्ने छैन । राजनीतिक विषयमा नेताहरूलाई दण्डित गर्ने भनेकै जनमतबाट । त्यही दण्डित गर्नका लागि फागुन २१ गतेको मितिमा प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेर उम्मेदवारी दर्ता भएर प्रचारसमेत सुरु भइसकेको छ । अब दण्डित गर्ने अधिकार जनताको हातमा छ, चुनाव जिताउने कि नजिताउने ?
केही दिनअगाडि सर्लाही क्षेत्र नम्बर ४ का राष्ट्रिय स्वतन्त्र पार्टीकै अर्का उम्मेदवार अमरेशकुमार सिंहले नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापाविरुद्ध सार्वजनिक अभिव्यक्ति दिँदै ठग र बाख्राचोरको आरोप लगाए । उनीहरू दुवै सोही क्षेत्रका प्रतिस्पर्धी हुन् । थापाले ठगी गरेको र बाख्रा चोरेको अहिलेसम्म कतै पुष्टि भएको छैन वा ती घटनामा दण्डित भएका छैनन् । थापाले ठगी गरेको र बाख्रा चारेको विषयमा सर्वसाधारणले मात्र होइन स्वयम् आरोप लगाउने सिंहले पनि कतै उजुर गरेको सार्वजनिक भएको छैन । सिंहको उक्त आरोप केबल आफ्ना प्रतिस्पर्धी थापाप्रति घृणा फैलाउने अभिव्यक्ति मात्र हो ।
आफ्ना प्रतिस्पर्धीमाथि अपुष्ट आरोप लगाएर घृणा फैलाउने प्रवृत्ति नेपालमा हुने अधिकांश निर्वाचनमा हुनेगरेको छ । अदालतमा मुद्दा चलिरहेको व्यक्तिलाई भगवान् र कतै उजुरी नपरेको, पुष्टि नभएको विषयसँग जोडेर घृणा फैलाउने काम समर्थक र विरोधीबाट हुनेगरेको छ । जुनसुकै उम्मेदवारप्रति घृणा फैलाउने अधिकार कसैलाई पनि छैन र हुनु हुँदैन पनि । जुनसुकै नेतामाथि प्रश्न उठ्छ र उठाउन पाइन्छ । सबैसँग पब्लिक डिबेट सम्भव छैन । तर, प्रधानमन्त्रीको रूपमा अगाडि सारिएका वा पार्टीको प्रमुख व्यक्तिसँग पब्लिक डिबेट गरेर उक्त पार्टीको वास्तविकता बाहिर ल्याउनु प्रजातान्त्रिक विधि हो । उक्त प्रजातान्त्रिक विधि अस्वीकार कसैले गर्छ भने त्यो जनताबाट लुकीलुकी हिँड्छ र कसैले नदेख्ने गरी ढुंगा हान्नु हो । लोकतन्त्रमा लुकीलुकी ढुंगा हानेर भाग्नुभन्दा जनताका प्रश्नको सामना गर्नु नै उचित हुनेछ । झापा र सर्लाही मात्र होइन देशका सबै निर्वाचन क्षेत्रमा फैलाइने घृणा र द्वेषको विषयमा निर्वाचन आयोगले सबैलाई कारबाहीको दायरमा ल्याउनै पर्छ । चुनाव घृणा र द्वेष फैलाउने एउटा विन्दु होइन, पब्लिकले प्रश्न गर्ने र त्यसको उत्तर सुन्ने साझा थलो बनाउनुपर्छ । कसैको प्रश्न वा उत्तर चित्त नबुझ्न सक्छ तर सुन्ने क्षमता सबैमा हुनैपर्छ । यस्ता आरोप र प्रत्यारोपप्रति निर्वाचन आयोग मौन बस्नु दण्डहीनतालाई प्रश्रय दिनु हो । यसमा निर्वाचन आयोग बोल्नुपर्छ ।