दमौली (तनहुँ) । श्रम नगरी देश विकास हुन नसक्ने श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बताएका छन् । अध्यक्ष साम्पाङले सोमबार तनहुँको आँबुखैरेनीमा स्थानीयसँग भएको भेटमा गफले मात्रै मुलुक नबन्ने बताउँदै त्यसका लागि श्रम अनिवार्य रहेको बताए ।
उनले भने, “काम नगरेर देश नबनेको हो । काम गर्ने मानिसलाई अपमान गर्ने प्रवृत्ति छ । श्रम गरेर देशलाई स्वाधीन बनाउनुपर्छ ।” गफभन्दा श्रमलाई प्राथमिकता दिने पार्टी आफ्नो मात्रै रहेको दाबी गर्दै साम्पाङले सबै जनता उत्पादनशील काममा जोडिनुपर्ने उल्लेख गरे ।
राजनीतिक दलहरू विकासका नाममा भाषण र आश्वासनमै सीमित भएको आरोप लगाउँदै अध्यक्ष साम्पाङले आफ्नो पार्टीले श्रमलाई व्यवहारमै उतारेको दाबी गरे । उनले देशका सबै नागरिकलाई उत्पादनशील काममा जोड्न नसक्दासम्म बेरोजगारी, गरिबी र परनिर्भरताको समस्या समाधान नहुने बताए । विशेषगरी युवाहरू श्रमबाट टाढा रहँदा ठूलो जनशक्ति विदेशिन बाध्य भएको उनको भनाइ थियो ।
विदेशी सहयोग र अनुदानले मात्र देश नबन्ने स्पष्ट पार्दै अध्यक्ष साम्पाङले आफ्नै श्रम र स्रोतको सदुपयोगमार्फत विकास गर्नुपर्नेमा जोड दिए । “विदेशी आएर हाम्रो देश बनाई दिँदैनन् । आफ्नो देश आफैँले बनाउने हो,” उनले भने ।