किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको चैनपुर नगरपालिका–२ नुनढाकी खण्डको भित्री सडकमा जिप दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । चैनपुर–१ का ५९ वर्षीय वीरबहादुर लिम्बू र चैनपुर–१ पैरेका अनिष थक्लुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले बताए ।
चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १–००१ च ८२४७ नम्बरको जिप चैनपुर–२ स्थित नुनढाकी नजिकै आइतबार साँझ दुर्घटना हुँदा चैनपुर–१ सिङरिङ बस्ने ३४ वर्षीय निमदोर्जी शेर्पा, ९ वर्षीय बालक पेम्बा शेर्पा, चैनपुर मैदानेका ४५ वर्षीय भीमबहादुर थुलुङ र पाँचथरको फिदिम नगरपालिका–४ का २८ वर्षीय दीपेश माझी चार जना गम्भीर घाइते भएको नायब प्रहरी उपरीक्षक मैनालीले बताए ।
थप उपचारका लागि गम्भीर घाइते चैनपुर–१ सिङरिङ्काका निमदोर्जी, भीम बहादुर र पाँचथर फिदिमका दीपेशलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । सशस्त्र प्रहरी नं ४ गुल्म चैनपुरका प्रहरी नायब उपरीक्षक बाबुराम पौडेल, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पर्शुराम राई सहितको टोली घटनास्थल पुगेका थिए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।