वासिङटन । अमेरिकामा हिमपहिरोले त्रास मच्चाएको छ । शनिबारदेखि सुरु भएको आँधीले हजारौँ उडान रद्द भएको, सडकहरूमा जमेको बरफले यातायात रोकिएको र विद्युत् आपूर्ति प्रभावित भएको छ । मौसमविद् एलिसन सान्तोरेलीले चेतावनी दिँदै भने, ‘हिउँ र बरफ पग्लन ढिलो हुनेछ र यसले उद्धार कार्यलाई कठिन बनाउनेछ ।’
अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्तीमा १२ राज्यका लागि आपतकाल घोषणा गरे । संघीय आपतकालीन व्यवस्थापन एजेन्सीले विभिन्न राज्यमा आपतकालीन सामग्री, कर्मचारी र खोज तथा उद्धार टोलीहरू तयारी अवस्थामा राखेको छ । होमल्यान्ड सेक्युरिटी सचिव क्रिस्टी नोएमले सबैलाई ’सुरक्षित स्थानमा बस्न’ सल्लाह दिएका छन् । बरफ र भारी हिउँले प्रभावित क्षेत्रहरूमा एक लाख ४० हजारभन्दा बढी घरधुरीमा बिजुली आपूर्ति बन्द भएको छ । टेक्ससको शेबली काउन्टीमा बरफले रुखहरू भत्काउँदा करिब एक तिहाई विद्युत् ग्राहक प्रभावित भए । लुइसियानाको डेसोटो पेरिसमा पनि रुख र चरिको झर्ने कारण आधाभन्दा बढी घरधुरीमा बिजुली पुगेको छैन ।
शनिबार र आइतबार अमेरिकाभर १३ हजारभन्दा बढी उडान रद्द भएका छन् । प्रमुख हवाई अड्डाहरूमा उडान सेवामा ठूलो अवरोध देखिएको छ, जसमध्ये डलास–फोर्ट वर्थ अन्तर्राष्ट्रिय हवाई अड्डामा सात सयभन्दा बढी उडान रद्द भएका छन् । मिडवेस्टमा हावाको चिसो –४० डिग्री फरेनहाइट (–४० डिग्री सेल्सियस) सम्म पुगेको छ । मिनियापोलिसमा प्रदर्शनकारीहरू –६ डिग्री फरेनहाइट (–२१ डिग्री सेल्सियस) तापक्रममा निस्किएका थिए ।
न्यासभिल, लुइसियाना, डलास, ह्युस्टन, फीलाडेल्फिया र मेम्फिसमा विद्यालय बन्द गरिएका छन्। ग्रान्ड ओले ओप्रीले शनिबारको प्रस्तुति दर्शकविहीन सम्पन्न गरेको छ । मौसमविद् जोश वीसले भने, ‘यस आँधीको विशेषता यसको व्यापक प्रभाव क्षेत्र र त्यसपछिको अत्यधिक चिसो हो ।’ रासस/एपी