काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेड र एलएक्सजी मोटर्सबीच सम्झौता भएको छ । क्यारी इभीको नेपालका लागि आधिकारिक वितरक एलएक्सजी मोटर्स प्रालिका जितेन्द्रलाल कर्ण र रिलायन्स फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार क्यारी ब्रान्डका विद्युतीय भ्यान किन्न चाहने ग्राहकहरूका लागि रिलायन्स फाइनान्सले सुविधाजनक वित्तीय समाधान प्रदान गर्ने छ ।
सम्झौताको मुख्य उद्देश्य क्यारी ब्रान्डका केभान १ र केभान २ भ्यान खरिद गर्न चाहने ग्राहकका लागि सहज वित्तीय समाधान उपलब्ध गराउनु रहेको छ । यी विद्युतीय भ्यानहरूमा ५३.५८ किलोवाट आवर क्षमताको सीएटीएल ब्याट्री जडान गरिएको छ, जसले एक पटकको फुल चार्जमा तीन सय किलोमिटरसम्म रेन्ज प्रदान गर्ने दाबी गरिएको छ । साथै, यी इभीमा पीएमएसएम मोटर प्रणाली, एबीएस तथा अन्य सुरक्षा सुविधाहरू उपलब्ध गराइएको छ ।
यो सम्झौताले एलएक्सजी मोटर्सलाई क्यारी इभीमार्फत नेपालभर विद्युतीय सवारी क्षेत्रमा अझ मजबुत उपस्थिति विस्तार गर्न र ग्राहकको व्यवसायिक यात्रामा भरोसायोग्य सहयोग पुर्याउन सक्षम बनाउने विश्वास लिइएको छ ।