काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) बीच सम्झौता भएको छ । संघमा आबद्ध चार्टर्ड एकाउन्टन्ट्सहरूलाई आकर्षक ब्याजदरमा विभिन्न कर्जा सुविधाहरू प्रदान गर्ने सम्बन्धमा गरिमा विकास बैंक र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघबीच एक सम्झौता सम्पन्न भएको हो ।
सम्झौता–पत्रमा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको तर्फबाट अध्यक्ष अनुप नेपालले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात् नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघमा आबद्ध चार्टर्ड एकाउन्टेन्ट्स सदस्यहरूले न्युनतम आवश्यक कागजातमा ७५ हजारदेखि पाँच लाखसम्मको क्रेडिट कार्ड सुविधा प्राप्त गर्नुका साथै आवश्यक प्रक्रिया पूरा गरी विना धितो १५ लाखसम्मको व्यक्तिगत प्रोफेसनल कर्जा प्राप्त गर्न सक्नेछन । त्यसैगरी विकास बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघमा आबद्ध चार्टर्ड एकाउन्टेन्ट्स सदस्यहरूलाई आकर्षक व्याजदरमा घर कर्जा र सवारी साधन कर्जासमेत प्रदान गर्ने छ ।
बैकले हाल ‘अब आफ्नै घर’ भन्ने नाराका साथ छ दशमलव ४९ प्रतिशतदेखि गरिमा आवास कर्जा तथा पाँच दशमलव ९९ प्रतिशतदेखि नै गरिमा एसएमई तथा व्यवसाय कर्जा प्रवाह गरिरहेको छ । बैंकले देशभर एक सय २६ वटा शाखा कार्यालय र ५१ एटीएमका साथै नविनतम डिजिटल बैकिङमार्फत करिब नौ लाख ५० हजार ग्राहकहरूलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ ।