काठमाडौं । सानिमा बैंक लिमिटेडका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यले सोमबार पदभार ग्रहण गरेका छन् । सानिमा बैंक लिमिटेडको सञ्चालक समितिको २०८२ कार्तिक २४ (नोभेम्बर १०, २०२५) मा बसेको बैठकको निर्णयबमोजिम पवन कुमार आचार्य प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।
२१ वर्षदेखि सानिमा बैंकमा विशिष्ट योगदान पुर्याउँदै आएका आचार्यले संयुक्त राज्य अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर र भारतको एमएनआईटी, जयपुरमा इन्जिनियरिङ्गमा स्नातक डिग्री हासिल गरेका छन् । साथै, शैक्षिक उपलब्धिहरूमध्ये एसएलसी परीक्षामा आदर्श विद्या मन्दिर हाई स्कुलबाट बोर्ड तेस्रो श्रेणी हासिल गरेका थिए । प्रमुख कार्यकारी अधिकृतको पदभार ग्रहण गर्नुअघि उनी बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरतर रहेका थिए । सानिमा बैंकमा आफ्नो लामो सेवाकालका दौरान उनले दशभन्दा बढी विभाग तथा शाखाहरूको नेतृत्व गरेका छन् ।
उनको प्रमुख कार्य क्षेत्रहरूमा कर्जा मूल्यांकन, डिजिटलाइजेसन तथा परियोजना वित्त रहेका छन् । उनी सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटलमा पनि अध्यक्षका रूपमा कार्यरत रहेका थिए ।