काठमाडौं । एक जना स्थानीय तहका कर्मचारीले आफ्नो ३२ वर्षे जागिरको सिलसिलामा वैधानिकभन्दा झण्डै दोब्बर बढी अवैध आम्दानी गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदातल काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारका अनुसार भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर भरतकुमार आचार्यले पदीय मर्यादाविपरीतका कर्य गरी तीन करोड ५१ लाख आठ हजार दुई सय १० रुपैयाँ १८ पैसा वैधानिक र छ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ ९४ पैसा अवैध आम्दानी गरेको देखिएकोले मुद्दा दायर गरिएको हो ।
अख्तियारका अनुसार आचार्य २०४८ साल माघ ६ गते इन्जिनियर÷राप तृतीय श्रेणीमा भर्ना भएका थिए भने २०८० साल असार ६ गतेसम्म वरिष्ठ इन्जिनियर अधिकृत आठौँ तहमा पुगेका थिए । अख्तियारले सोही अवधिको उनको आम्दानीको परीक्षण गरेर अवैध आम्दानी गरेको भनेर भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारले आचार्यको एकाघर परिवार/संगोलमा रहेका व्यक्तिहरुको आम्दानी तथा खर्चको विश्लेषण गरेको दाबी गरेको छ । आचार्यको पारिश्रमिक/तलब, दैनिक भ्रमण भत्ता, स्थानीय भत्ता, बैठक भत्तालगायत अन्य भत्ताबापत बचत रकम, जग्गा बिक्रीबाट प्राप्त आय, निजकी श्रीमती लिली सुवेदीको पारिश्रमिक बचत, बैक तथा वित्तीय संस्थाहरुबाट प्राप्त कर्जाबापतको रकम, घर बहालबाट प्राप्त आय, विभिन्न फर्म/कम्पनीहरुमा गरेको लगानीबाट प्राप्त गरेको नाफा रकम, सवारीसाधन बिक्रीबाट प्राप्त रकम, बैंक तथा वित्तीय संस्थाहरुमा रहेको खातामा भएको मौज्दातमा प्राप्त ब्याज आय र विभिन्न व्यक्तिहरुबाट बैंकिङ माध्यमबाट प्राप्त रकमसमेतबाट आचार्य तथा उनको एकाघर परिवारका वैध आम्दानी तीन करोड ५१ लाख आठ हजार दुई सय १० रुपैयाँ १८ पैसा मात्र देखिएको हो । अख्तियारले आचार्यलाई कैद र बिगोबमोजिम जरिबाना हुन र उनको श्रीमतीसँग पनि प्रचलित कानुनबमोजिम सम्पत्ति जफत गर्ने प्रयोजनार्थ मात्र प्रतिवादी कायम गरेको छ ।