दोलखा । आलु खेतीको उर्वरभूमिको रूपमा रहेको जिल्लाको जिरी नगर क्षेत्रका स्थानीय किसानहरूलाई हिजोआज आलु रोप्न भ्याइनभ्याइ छ । वार्षिक करोडौँको आलु उत्पादन हुने जिरीमा वर्षे आलु रोप्ने सिजन सुरु भएको हो ।
मुख्यगरी जिरीको बुलडाँडा र ठूलोपातालमा अन्यत्रको तुलना धेरै आलु खेती हुने गरेपनि अहिले जिरीका सबै क्षेत्रमा धमाधम आलु लगाउने काम चलिरहेको छ । जिरीको अन्य गाउँहरू सिक्री, त्रिशुले, माली, श्यामा, यलुङ, कलङ, सिउरानी, ओखरे, ढुंगे, भण्डारे र खावामा पनि अहिले वर्षेआलु रोप्ने चटारो छ । माघ लाग्दासमेत हिउँदे वर्षा र हिमपात नभएपछि किसानहरू फुस्रो र सुकेको बारीमै आलुको बुक्मा बनाएर तथा बारीमा ड्याङ खनेर आलु रोप्न थालेका छन् । जिरीका ६५ प्रतिशत स्थानीयको आम्दानीको स्रोत नै आलु भएको स्थानिय स्थानीय दावा शेर्पाले बताए । उनले गत भदौ–असोजमा ३ लाख बराबरको आलु बिक्री गरेका शेर्पाले आगामी वर्षको लागि करिब आलु रोपेर सक्न लागेको जानकारी दिए ।
जिरीका एक किसानले सिजनमा न्यूनतम दुई लाखदेखि सात लाख रुपैयाँसम्मको आलु बिक्री गर्ने गरेका छन् । गतवर्ष आलुको मूल्यमा गिरावट आउँदा सोचेजस्तो आम्दानी गर्न नसकेको यहाँका किसानहरू बताउँछन् । आगामी वर्ष भने राम्रो मूल्य लिने आशामा किसानहरू रहेका छन् । जिरीबाट गत वर्ष झण्डै १२ करोड बराबरको आलु काठमाडौँ निर्यात गरिएको थियो । त्यसैगरी यसवर्ष पनि १० करोड रुपैयाँ बराबरको आलु निर्यात भएको उनले बताए । जिरीको तल्लो क्षेत्रमा मंसिरदेखि नै आलु रोप्ने गरिन्छ भने माथिल्लो क्षेत्रमा माघ लागेपछि मात्र आलु रोप्ने थालिन्छ । त्यसैगरी जिल्लाका अन्य क्षेत्रमा पनि अहिले वर्षे आलु लगाइन्छ ।
मुख्यगरी जिल्लाको शैलुङ, मेलुङ, लाकुरीडाँडा, खरिढुङ्गा, कालिन्चोक, गौरीशंकर खावा, जिरी, वैतेश्वर पोखरी, ठूलचौर, ठूलोबन फाप्लु एबो, हाब्बा, ठूलोपातल, गैरिमुदि, मिर्गेलगायतका क्षेत्रमा अत्यधिक आलु खेती हुँदै आएको छ । दोलखाका किसानले स्थानीय जातसँगै बाहिरबाट उन्नत जातको बिउ ल्याएर आलु लगाउने गर्दछन् ।