काठमाडौं । नेपाली कांग्रेसले सुशासन र विकासलाई प्राथमिकतामा राखेर आगामी निर्वाचनका लागि घोषणापत्र ल्याउने भएको छ ।
केन्द्रीय कार्यालय सानेपामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता देवराज चालिसेले घोषणापत्रमा ‘भिजन–१०’ समेटेर सार्वजानिक गर्ने तयारी गरिएको जानकारी दिए । कांग्रेसको घोषणापत्रले मुलुकको यथार्थ अवस्था चित्रण गर्दै सुशासन, विकास र व्यवहारिक कार्ययोजनालाई मुख्य आधार बनाउने उनले बताए । कांग्रेसको घोषणापत्र केवल आकांक्षा र प्रतिबद्धतामा सीमित नहुने उनको भनाइ छ । त्यसलाई कार्यान्वयन गर्न आवश्यक स्रोत र उपायसमेत स्पष्ट रूपमा उल्लेख गरिने उनले जानकारी दिए । घोषणापत्रमा स्रोत व्यवस्थापनका उपाय पनि समेटिन्छन् । उनले भने, ‘हाल घोषणापत्र निर्माणका क्रममा पार्टीले जिल्ला–जिल्लाबाट सुझाव संकलन गरिरहेको छ ।’
स्थानीय तह, क्षेत्र र जिल्लाबाट आएका सुझावलाई एकीकृत गरेर राष्ट्रिय आवश्यकतासँग जोडिने उनको भनाइ छ । कांग्रेसले गर्न सक्ने क्षमता, व्यवहारिकता र कार्यान्वयनयोग्य कार्यक्रम समेटिएको घोषणापत्र ल्याउने उनको दाबी छ । ‘घोषणापत्रमार्फत हरेक नागरिकको मन छुने, सबै वर्ग, क्षेत्र र समुदायको भावना अटाउने प्रयास गरिने छ’, उनले भने । उनका अनुसार कांग्रेसको घोषणापत्रले वर्तमान चुनौती र भविष्यको दिशालाई एकैसाथ सम्बोधन गर्दै विश्वासयोग्य विकल्प प्रस्तुत गर्ने छ । पार्टीले घोषणापत्रमार्फत स्थिरता, उत्तरदायित्व र समावेशी विकासको स्पष्ट खाका जनतासामु राख्ने तयारी गरेको छ ।
प्रवक्ता चालिसेले पार्टीले चुनाव प्रचारप्रसारलाई मितव्यी र मर्यादित बनाउने बताए । उनले निर्वाचन प्रचारप्रसारका क्रममा निर्वाचन आयोगको आचारसंहितालाई पूर्ण रूपमा पालना गरिने पनि उल्लेख गरे । गलत संस्कृतिको विकास नहोस् र प्रतिस्पर्धा मर्यादित रहोस् भन्ने उद्देश्यले पार्टीले आन्तरिक रूपमा थप आचारसंहिता निर्माण गरी मातहतका निकायहरूलाई कडाइका साथ पालना गर्न निर्देशन दिएको छ । प्रचारका दौरान पार्टीका नीति, योजना तथा कार्यक्रमहरूलाई प्राथमिकता दिई जनतामा विश्वास र भरोसा स्थापित गर्ने प्रयास गरिनेछ । उनले भने, ‘कुनै पनि प्रतिपक्षी उम्मेदवारको व्यक्तिगत जीवनमा प्रवेश नगर्ने, मानव स्वतन्त्रताको सम्मान गर्ने हाम्रो नीति रहेको छ ।’