काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालको अध्यक्षतामा होटल ग्रान्ड पोखरामा दुई दिने नेसनल एजेन्सी मिट कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । देशभरीका प्रतिष्ठित एजेन्सी लिडर तथा उत्कृष्ट अभिकर्ताहरूको सहभागितामा आयोजित उक्त कार्यक्रममा कम्पनीले असाधारण प्रदर्शन गर्ने अभिकर्ताहरू तथा एमडीआरटी २०२६ हासिल गर्ने सदस्यहरूलाई विशेष सम्मान प्रदान गरेको हो ।
कार्यक्रमको पहिलो दिन उत्कृष्ट व्यवसाय, समर्पण र निरन्तर योगदानमार्फत कम्पनीको वृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अभिकर्ताहरूलाई कदर गर्दै सम्मान समारोह आयोजना गरिएको थियो । एमडीआरटी २०२६ प्राप्त गर्ने अभिकर्ताहरूलाई अन्तर्राष्ट्रियस्तरको उपलब्धिका रूपमा विशेष सम्मान गर्दै कम्पनीले उनीहरूको पेशागत उत्कृष्टता र नेतृत्व क्षमताको उच्च मूल्यांकन गरेको थियो ।
दोस्रो दिन अभिकर्ताहरूको क्षमता अभिवृद्धि तथा नेतृत्व विकासमा केन्द्रित प्रशिक्षण सत्र सञ्चालन गरियो । अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सेल्स ट्रेनर तथा लिडरसिप कोच श्री अनिल झाले बिक्री कौशल, नेतृत्व क्षमता, सोचको रूपान्तरण तथा ग्राहकसँग दीर्घकालीन सम्बन्ध निर्माणका विषयमा प्रेरणादायी प्रशिक्षण प्रदान गरे । उनको सशक्त प्रस्तुति र व्यावहारिक अनुभवले सहभागी अभिकर्ताहरूलाई अझ उच्च लक्ष्यसहित अघि बढ्न उत्प्रेरित गरेको थियो ।
कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत कबि फूयाल, प्रमुख बजार अधिकृत गणेश चौलागाईंको प्रमुख उपस्थिति रहेको थियो । त्यस्तै उत्कृष्ट नतिजा हासिल गर्ने शाखा प्रमुखहरुको पनि कार्यक्रममा उपस्थिति रहेको थियो । सुन्दर पर्यटकीय नगरी पोखरामा सम्पन्न नेसनल एजेन्सी मिटले विगतका उपलब्धिहरूको उत्सव मनाउनुका साथै भविष्यमा अझ सशक्त, व्यावसायिक र ग्राहक केन्द्रित सेवा प्रदान गर्ने प्रतिबद्धतालाई थप बलियो बनाएको छ । हाल सन् नेपाल लाइफ इन्स्योरेन्सको देशभरि एक सय ४८ शाखा तथा उपशाखा संचालनमा रहेका छन् ।