गोरखा । जिल्लाको उत्तरी भेगमा बुधबार बिहान ३ः०० बजेतिरबाट भारी हिमपात हुन सुरु भएको स्थानीयले बताएका छन् । स्थानीयवासीका अनुसार चुमनुब्री गाउँपालिका–१ को साम्दो, सामागाउँ, वडा नं २ को ल्हो, स्याला, वडा नंं ६ को चुम्चेत, वडा नं ७ को नौवटै गाउँबस्तीमा हिमपात भएको छ ।
चुमनुब्री–७ का पासाङफुञ्जो लामाका अनुसार हिउँ परेपछि गाउँलेहरू एकदम खुसी भएका छन् । खेतीपनि राम्रो हुने, धुलो नउड्ने, हुरीबतास नचल्ने र आगलागीको डर नहुने भन्दै स्थानीय खुसी भएका उनको भनाइ छ । सँधै हुरीबतास चलेर अहिले त घरको अँगेनामा आगो फुक्न पनि नसक्ने अवस्था भएको थियो, अब बल्ल हिउँ पर्यो, आगालागीको पनि डर हट्यो उनले भने । मङ्सिरमा लगाएको गहुँखेतीले पनि पानी पाउने भयो भन्दै उनले हिमपात भएपछि गाउँलेहरूको दिनचर्यामा पनि परिवर्तन भएको बताए । करिब एक फिट हिउँ जमेको हुँदा अहिले सबै जना घरभित्रै आगो तापेर बसेका उनले सुनाए ।