कास्की । आठ अर्बभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा हाल कारागारमा रहेका नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदिप अधिकारीसँगको मिलेमतोमा रिठ्ठेपानी डाँडा कटान र फोहोरमैला व्यवस्थापनको नाममा चरम भ्रष्टाचार भएको छ ।
पोखरा विमानस्थलभित्र फोहोरबाट विद्युत् निकालिएको भनी पाँच करोडभन्दा बढी भुक्तानी निकालेर मेयर आचार्यसँगको मिलेमतोमा हाल वडा नम्बर ३३ मा फोहोरमैला प्रशोधन केन्द्र बनाउने नाममा यो भ्रष्टाचारलाई गुपचुप बनाउने कोसिस भएको हो ।
फोहोर मैला पुर्ने खाल्डो पुर्नकै लागि महानगरको क्षेत्राधिकारभित्र रहेको रिठ्ठेपानी बानियाँ पाखा डाँडास्थित ३९ वटा कित्ताको ८६ रोपनी १ आना डाँडा कटानमा ३२ करोड भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत अनुसन्धान टोली बनाएर अनुसन्धान गरिरहेको छ । यही डाँडा कटानको नाममा महानगरमा आउनुपर्ने २७ करोड रोयल्टी मेयर धनराज आचार्यले गायब बनाएका छन् ।
प्रारम्भिक वातावरणीय परीक्षण (आईई) प्रतिवेदनअनुसार उक्त डाँडा कटानबाट निस्कने ११ लाख छ हजार दुई सय ७३ घनमिटर माटोमध्ये ३५ हजार सात सय ७४ घनमिटर माटो सोही स्थानमा फिलिङ गर्ने उल्लेख छ । बाँकी रहेको एक लाख ७० हजार चार सय ४९ घनमिटर माटो स्वयम् जग्गाधनीहरूले बिक्री गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
जग्गाधनी गोविन्द्रप्रसाद तिमिल्सिना समेतका जग्गाधनीलाई तत्कालीन मेयर मानबहादुर जिसीले २०७६ जेठ ४ गते ५० हजार घनमिटर माटो कटान गरी महानगरले तोकेको आर्थिक ऐनअनुसार प्रतिघनमिटर ७२ ले हुन आउने ३६ लाख राजस्व लिएर माटो कटान गर्ने बाटो खोलिदिएका थिए । अहिले पनि रिठ्ठेपानी डाँडा कटान गरेर पोखराका मेयर धनराज आचार्य र केही ठेकेदारको मिलेमतोमा डाँडा कटानको माटो ल्यान्डफिल साइटमा खाल्डो पुर्न र मैदी ताल, दिपाङताल र रुपा ताललगायतको क्षेत्रमा रहेको सिमसार क्षेत्र पुर्ने कार्यमा प्रयोग भइरहेको छ । हजारौँ टिप माटोले ताल पुरिए पनि मेयर आचार्यलाई प्रमुख जिल्ला अधिकारी र प्रहरीका हाकिमहरूले संरक्षण गर्दै आएका छन् ।
आचार्य निर्वाचित भएर आएपछि उनैले जारी भएको आर्थिक ऐन, २०८० अनुसार लाग्ने रोयल्टी रकम २४ करोड ४९ लाख सात हजार सात सय ६० मा लाग्ने मूल्य अभिवृद्धि कर तीन करोड १८ लाख ३८ हजार नौ रुपैयाँसहित २७ करोड ६७ लाख ४५ हजार सात सय ६९ रकमका विषयमा छानबिन गर्नुपर्ने महालेखा परीक्षकको रिपोर्टमा उल्लेख छ ।
तर, २७ करोड राजस्व जग्गाधनीहरूबाट असुल्नुपर्ने भए पनि मेयर धनराज आचार्यले प्राधिकरणलाई पत्र लेखेर आलटाल गर्दै आएका छन् । स्रोतका अनुसार माटो पुर्ने कार्यमा संलग्न जग्गाधनीसँग मेयरले आर्थिक साँठगाँठ गरेका छन् । त्यतिमात्रै होइन अख्तियारले भ्रष्टाचार मुद्दा अभियोजन गरी हाल पुर्पक्षका लागि कारागारमा रहेका प्रदिप अधिकारीसँग मेयर आचार्यको साँठगाँठ छ । अधिकारी जोडिएकै विमानस्थल निर्माणको आठ अर्बको घोटालामा मेयरले साथ दिएका थिए ।
पोखरा विमानस्थलमा फोहोरबाट विद्युत् निकाल्ने भन्दै लाखौँ डलर भुक्तानी भए पनि विद्युत् निकाल्ने कुनै मेसिन छैन । फोहोरलाई ट्रकमा हाल्ने र सेती नदीको किनार रहेको लामेआहालमा वातावरणीय प्रभाव मूल्यांकन समेत नगरी फालिएको छ । फोहोरबाट स्थानीयमा विभिन्न रोग र संक्रमणको खतरा बढेको छ । सेती नदीको जलचर समेत अहिले खतरामा परेको छ ।
पोखरा विमानस्थलको आठ अर्ब भ्रष्टाचारको आरोपी तथा भक्तपुरको नालिन्चोक हेलिप्याड निर्माणको क्रममा भएको १३ करोड भ्रष्टाचार आरोपमा हाल कारागारमा रहेका नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदिप अधिकारी र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य फोहोर मैला प्रशोधन केन्द्र निर्माणका लागि विभिन्न स्थानको खोजीमा लागेका थिए ।
चीनको एक्जिम बैंकको ऋण र चीनकै वाणिज्य मन्त्रालयको अनुदान सहयोगमा करिब २२ अर्बभन्दा बढी लगानीमा निर्माण भएको भनिएको उक्त विमानस्थलमा सम्झौताअनुसारको संरचना नै बनेको छैन । २२ अर्ब लगानी शंकास्पद भएकै कारण अख्यितारले अधिकारीसहित ५६ जनालाई भष्टाचार मुद्दा दायर गरेको थियो । विमानस्थलमा सम्झौताअनुसार ‘वेस्ट बर्निङ स्टेसन’ निर्माण गर्ने भन्दै विमानस्थलबाट निस्कने फोहोरलाई एक ठाउँमा जम्मा गरी जलाएर विद्युत् उत्पादन गर्ने लक्ष्यसहित ‘वेस्ट बर्निङ स्टेसन’ निर्माण गर्नुपर्ने सम्झौतामै उल्लेख छ । जसका लागि तीन लाख ५६ हजार डलर अर्थात् पौने पाँच करोड लगानीमा सोलिड वेस्ट म्यानेजमेन्ट सिस्टम स्थापना गर्ने भनी भुक्तानी भएको छ ।
चिनियाँ ठेकेदार, भ्रष्टाचार आरोपी अधिकारी र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको मिलेमतोमा रिठ्ठेपानी डाँडा कटान गरेर ल्यान्डफिल साइड पुर्ने माटोमा समेत घोटाला भएको छ ।
महालेखा परीक्षकको अघिल्लो आर्थिक वर्षको प्रतिवेदनअनुसार रिठ्ठेपानी डाँडा कटानका लागि नागरिक उड्डयन प्राधिकरणले २०७९ मंसिर २५ गते २८ करोड ५८ लाख रुपैयाँ भ्याटबाहेकको रकममा डाँडा कटान गर्न ठेक्का दिएको थियो । ठेक्का लगाउँदा चार लाख २० हजार चार सय २८ घनमिटर माटो उत्खनन गर्ने भनिएको थियो ।
तर, ठेकेदार तथा स्थानीय जनप्रतिनिधि र भ्रष्टाचार आरोपी पोखरा विमानस्थल आयोजना निर्माण पक्षले ११ लाख छ हजार घनमिटर माटो उत्खनन भएको छ । उत्खनन भएका ती माटोहरूप्रति टिप सात हजारका दरले पोखराका विभिन्न सिमसार क्षेत्रमा मेयर र ठेकेदारकै मिलेमतोमा स्थानीय जनतालाई बिक्री गरिएको छ । जसबाट ठेकेदार, जनप्रतिनिधिले एक अर्बभन्दा बढीमा बिक्री गरेको स्थानीयहरू बताउँछन् । त्यसो त अहिले पनि यो डाँडा कटान भइरहेको छ माटो बिक्री भइरहेको छ ।
पोखरा ३३ स्थित झाँक्रीखोलामा निर्माण गर्ने भनिएको फोहोर प्रशोधन केन्द्र समेत शंकाको घेरामा परेको छ । पोखरा महानगरपालिकाले निजी साझेदारी परियोजनाअनुसार झाँक्री खोलामा निर्माण गर्ने भनिएको फोहोर प्रशोधन केन्द्रमा मेयर धनराज आचार्यको अस्वाभाविक संलग्नता छ । उनले महानगरको बजेटमार्फत बिचौलिया लगाएर स्थानीयको जग्गा बैना गर्नेदेखि ठेकेदार छनौटमा समेत आफ्ना मान्छे खोजिरहेका छन् ।