काठमाडौं । होटल फरेस्ट इनको साधारण सेयर बाँडफाँट भएको छ । एनआईसी एसिया क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा होटलको जारी पुँजीको १० प्रतिशत अर्थात् चार करोड रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको चार लाख कित्ता साधारण सेयरको बाँडफाँट कार्य सम्पन्न भएको हो ।
कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रमस्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरूका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त विवरणपत्र अनुसार सेयर बिक्रीको लागि मेरो सेयरको एप्लिकेसनमार्फत सी—आस्वा सदस्य बैक तथा वित्तीय संस्थाबाट खरिद आवेदन गर्न मिल्ने गरी यही माघ चार गतेदेखि माघ आठ गतेसम्म सेयर बिक्री खुल्ला गरेको थियो । उक्त निष्कासनको समयमा जम्मा ८१ हजार सात सय ९७ जना आवेदकहरूबाट जम्मा १२ लाख ९३ हजार ४० कित्ता सेयर खरिदको लागि आवेदन प्राप्त भएकोमा सो मध्ये सम्बन्धित सी—आस्वा सदस्य बैक तथा वित्तीय संस्थाहरूले विविध कारणबाट छ हजार छ सय ८९ जना आवेदकहरूबाट प्राप्त जम्मा एक लाख ४७ हजार दुई सय ८० कित्ता सेयर खरिदको लागि प्राप्त आवेदनहरू रद्द गरेपश्चात् बाँकी रहेको ७५ हजार एक सय आठ जना आवेदकहरूबाट जम्मा ११ लाख ४५ हजार सात सय ६० कित्ता सेयर खरिदको लागि अन्तिम आवेदन प्राप्त भएको र उक्त आवेदनहरूलाई आवश्यक प्रशोधन गरी सोको बाँडफाँट गरिएको कम्पनीले जानकारी दिएको छ ।
सेयर खरिदका लागि प्राप्त आवेदनहरूमध्ये नौ जना आवेदकहरूले दोहोरो हितग्राही खाता प्रयोग गरी १८ वटा आवेदनमार्फत जम्मा एकसय ९० कित्ता सेयर खरिदको लागि आवेदन गरेको हुँदा उक्त आवेदनहरू रितपूर्वक नदेखिएकोले उक्त आवेदनहरूलाई रद्द गरी जम्मा ७५ हजार ९० जना आवेदकहरूलाई गोलाप्रथाको माध्यमबाट १० कित्ता सेयरका दरले जम्मा ४० हजार जना आवेदकहरूलाई चार लाख कित्ता सेयर बाँडफाँट गरिएको कम्पनीले जानकारी दिएको छ ।