काठमाडौं । हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ भने मुलुकका अधिकांश क्षेत्र मंगलबार रातिदेखि छिटपुट तथा मध्यम वर्षा भएको छ ।
लामो खडेरीपछि हिउँदे वर्षा भएसँगै किसानहरू उत्साहित भएका छन् । वर्षाले लगाएको बालीनाली सप्रने र नयाँ बालीका लागि मलिलो हुने भएकाले किसानहरू हर्षित भएका हुन् । न्यूनचापीय प्रणालीका कारण पश्चिमबाट प्रवेश गरेको मनसुनका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको अघिकांश स्थानमा वर्षा भएको हो । उक्त मनसुनी प्रणाली सक्रिय भएपछि हिमाली क्षेत्रमा हिमपात भएको छ । कर्णाली र लुम्बिनी प्रदेशमा अधिकांश स्थान र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा मध्यम वर्षा भएको हो । त्यस्तै, गण्डकी प्रदेशको तल्लो क्षेत्रमा हल्का मात्रै वर्षा भएपछि सो प्रणालीले बागमती प्रदेशको काठमाडौँ उपत्यका आसपासमा वर्षा भएको थियो ।
हिउँदे वर्ष बालीनालीका लागि ‘अमृत’ सरह हुने किसानहरू बताउँछन् । असिना विनाको पानीले अहिले गरिएकोमा खेतीमा उत्पादन वृद्धि हुने गरेको छ । यससँगै हिउँदे वर्षापछि फलफूल तथा बोटबिरुवामा नयाँ पालुवा पलाउने र त्यसले आगामी वर्ष उत्पादन वृद्धि गराउने छ । वर्षासँगै हिमाली क्षेत्रमा भएको हिमपातले स्याउलगायतका खाद्य तथा नगदेबालीको उत्पादन बढ्ने छ । यस्तै उच्च क्षेत्रमा भएको हिमपातको कारण तल्लो क्षेत्रमा चिसो बढ्दा जनजीवन भने प्रभावित बनेको छ ।