भक्तपुर । टिपरको ठक्करबाट कमलविनायक बसपार्क नजिकै स्कुटर चालकको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् ।
जिल्ला प्रहरी भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले कमलविनायकबाट च्यामासिंहतर्फ जाँदै गरेको बा ५५ प १७४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई लड्दा सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०२०प.११६८ नम्बरको स्कुटरसँग ठोक्किएपछि सोही दिशाबाट आउँदै गरेको प्रदेश ३–०१–००३ क। ६२९१ नम्बरको टिपरले स्कुटरलाई ठक्कर दिएको जानकारी दिए ।
भक्तपुर अस्पतालमा दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक भक्तपुर नगरपालिका–८ निवासी २६ वर्षीय बिमल वनमालाको बिहीबार उपचारकै क्रममा मृत्यु भएको खड्काले जानकारी दिए । त्यसैगरी ललितपुरस्थित बी एन्ड बी अस्पतालमा दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक भक्तपुर नगरपालिका–७ इनाचोकका २४ वर्षीय राजेश वनमालाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी भक्तपुरका अनुसार दुर्घटनापछि फरार रहेका टिपर चालक सिन्धुपाल्चोकका २५ वर्षीय राजकुमार माझीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको र दुर्घटनामा परेका तीनवटै सवारीसाधन प्रहरी वृत्त जगातीमा राखिएको छ ।