काठमाडौँ । सरकारले आगामी फागुन १ गतेदेखि लागू हुने गरी नेपाल प्रहरीको रासन स्केल र रासनवापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रासन स्केल र रासनबापतको दैनिक रकम बढाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
योसँगै फागुनदेखि नेपाल प्रहरीका सकल दर्जाले दैनिक रासन स्केल र रासनबापतको वृद्धि भएको रकम पाउनेछन् । यसअघि प्रहरीले दाल, चामल, मासु, तरकारीलगायत १६ आइटम पाउने गरेकामा अब आइटम बढ्नेछ । उनीहरूले १९ आइटमका रासन पाउनेछन् । सरकारले प्रहरीले दैनिक पाउने रासनको क्यालरी बढाएको छ । यसअघि दैनिक चार हजार ३०.५ क्यालरीबराबरको रासन पाउने गरेका थिए भने अब यसलाई बढाएर प्रतिदिन चार हजार तीन सय ६४ क्यालरीबराबरको रासन पाउनेछन् ।
यसरी पाउने रासनबापतको रकम समेत बढेको छ । रकम जिल्लाअनुसार फरक–फरक हुने गरेको छ । तराईका जिल्लाभन्दा हिमाली जिल्लामा बढी हुने गरेको छ । प्रहरीले सबैभन्दा कम झापामा रासनबापत दैनिक एक सय ८० रुपैयाँ ५५ पैसा पाउँदै आएका थिए । अब दैनिक एक सय ९९ रुपैयाँ १० पैसा पाउनेछन् । त्यस्तै, सबभन्दा बढी रकम हुम्लामा रहेको छ । हुम्लाको माथिल्लो भेगमा खटिने प्रहरीले दैनिक रासनबापत आठ सय ६३ रुपैयाँ ६५ पैसा पाउने गरेका थिए । अब नौ सय ५२ रुपैयाँ ३६ पैसा पाउनेछन् ।
यस्तै, काठमाडौँ उपत्यकामा दैनिक रासनबापत २०१ रुपैयाँ पाउँदै आएकामा दैनिक २२१ रुपैयाँ ९२ पैसा पाउने भएका छन् । आइटम थप र चामलको मूल्य बढाउँदा प्रहरीको रासन भत्ता समग्रमा १० प्रतिशत बढेको हो ।