विराटनगर । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिवले मन्त्रीलाई थाहै नदिई कर्मचारी सरुवा गरेपछि स्वास्थ्य मन्त्रालयमा हलचल मच्चिएको छ । स्वास्थ्य मन्त्री मानबहादुर लिम्बुलाई थाहै नदिई ‘सचिवस्तरीय’ निर्णय भन्दै स्वास्थ्य सचिव डा.यदुचन्द्र घिमिरेले भटाभट कर्मचारी सरुवा गरेका थिए ।
गत पुष २२ गते लिम्बु स्वास्थ्यमन्त्री बनेका थिए । तर स्वास्थ्य सचिवले घिमिरेले एक महिना अगाडिको मिति राखेर सरुवाको पत्र धमाधम सम्बन्धित कर्मचारीलाई पठाउन थालेपछि मन्त्रालयमा हलचल मच्चिएको हो । कर्मचारी सरुवा प्रकरणले करिब एक वर्षदेखि स्वास्थ्य मन्त्रालयमा सेटिङ्ग गरेर आर्थिक लाभ प्राप्त गर्दै आएका सचिव घिमिरेको कमाउ प्रवृत्ति सार्वजनिक भएको छ । सचिव घिमिरेको सेटिङ्गमा भएको कर्मचारी सरुवालाई मन्त्री लिम्बुले मन्त्रीस्तरीय निर्णय गर्दै बदर गरिदिएका छन् । सो पश्चात् सचिव घिमिरे हाल बिदा लिएर काठमाडौंमा बसेको मन्त्रालयका कर्मचारीले जानकारी दिए । यसरी सरुवा विवादमा परेका कोशी प्रदेशका स्वास्थ्य सचिव डा.यदुचन्द्र घिमिरे मन्त्रालयमा नभेट्टिएपछि वास्तविकता बुझ्न टेलिफोन गर्दा उनको मोबाइल स्विचअफ छ ।
गत मंसिर १७ गते घिमिरेले सचिवस्तरीय निर्णय भन्दै प्रदेशका ३९ कर्मचारीको सरुवा गरका थिए । सचिव घिमिरेको सेटिङ्गमा कर्मचारी सरुवा गरेपछि कर्मचारीबाट नै मन्त्रीलाई उजुरी परेको स्रोतले बताएको छ । कर्मचारीको उजुरी र निर्वाचनको आचारसंहिताको कारण भन्दै स्वास्थ्यमन्त्री लिम्बुले पनि पुस ३० गते निर्णय गर्दै ती कर्मचारीलाई साविककै स्थानमा फर्काउने निर्देशन दिएका हुन् । स्रोतका अनुसार सरुवा भएका कर्मचारीलाई चाँडै रवाना गर्नका लागि एमालेका केही नेता र मुख्यमन्त्री कार्यालयमार्फत मन्त्रालयमा ब्यापक दबाब पनि परेको थियो । यसरी मन्त्रालयका कर्मचारी सरुवामा सचिवदेखि मुख्यमन्त्री कार्यालय र मुख्य सचिव राजेन्द्र पौडेलसमेत सक्रिय भएर लागेपछि स्वास्थ्य मन्त्रिले तुरुन्तै सरुवा भएका कर्मचारीलाई रवाना दिन रोक्नू भन्दै निर्देशन दिएको पाइएको हो ।
मन्त्रालयमा सचिव घिमिरेको काम कारबाहीले धेरै बेथिति भएको रहस्य पनि खुलेको छ । कर्मचारीहरूले यो सरुवाले आफूहरूमाथि अन्याय भएको भनी सचिव घिमिरेलाई पत्रसमेत लेखेका थिए । तर उनले कुनै सुनवाइ नगरी तारमतार फोन गरेर रवाना पत्र बुझ्न दबाब दिएको एक कर्मचारीले बताए । मुख्य सचिवले पनि निर्वाचन घोषणा भएर उम्मेदवारी दर्ता भइसकेपछि स्वास्थ्यका सरुवा गरिएका कर्मचारी बोलाइ—बोलाइ सरुवाको चिठी आफैँले दिइरहेको थाहा भएको हो । एक पिडीत कर्मचारीले आर्थिक दैनिकलाई आफ्नो नाम उल्लेख नगर्ने सर्तमा भने, ‘यो अन्यायमा परेकाको निर्णय बदर भएको हो, अब निरन्तर रूपमा स्वास्थ्य सचिव घिमिरेले कर्मचारीमाथि गरेको मनपरीको पर्दाफास हुने छ ।’ मुख्यसचिव र मुुख्यमन्त्रीको कार्यालयबाट भएको ऐन विपरीतको निर्देशनले कोशी प्रदेशमा ‘प्रशासनिक अराजकता’ निम्त्याउने जोखिम बढेको जानकारहरूले बताउँन थालेका छन् ।