नेपालमा हरेक परिवर्तनसँगै जनताका आशा निकै थिए । बेरोजगारले रोजगारी पाउँछु भन्ने आशा, अशान्तिसँग बसेकाले शान्ति होला भन्ने आशा, घण्टौँ लगाएर पानी लिन जानेले ढैलोमै पानी आउला भन्ने आशा, पढ्न नपाउनेले कसैले पढाइदेला भन्ने आशा, रोगीले उपचार पाउने आशा, वृद्धले सुखसँग मर्न पाउँ भन्ने आशा अनि युवाले देशमै केही गरौँ भन्ने आशा । अनि आम जनताले नेपाल यस्तै स्वर्ग जस्तो छ, अब भौतिक पूर्वाधार बनोस्, देशमा कलह नआओस्, र देशमै सुख, शान्ति र समृद्धि होस् भन्ने आशा गर्दै–गर्दै प्रजातन्त्र देखेको आज ७५ वर्ष हुँदा पनि देशले काँचुली नफेरेको र नारा र भाषणमै सीमित भई देश आजको दिनसम्म पनि आर्थिक र राजनीतिक निकासबाट मुक्त हुन नसकेको देख्दा हामी चुनावमा मक्ख पर्ने कि, नेताको भाषणमा मक्ख पर्ने कि, जहिले आशामै जीवन बिताउने कि, वा अब आउने चुनावमा उठ्ने नेताहरूलाई घर–ढैलो आउँदा यस्ता प्रश्न सोधेर राख–राख पार्ने र जसको सरकार बने पनि उनीहरूलाई जहिले पनि निगरानी राखेर भ्रष्टाचारमुक्त समाज निर्माण गराउन सके देशमा विकास र उन्नतिको बीउ रोपिने थियो ।
हामी पढ्दा शिक्षाको ज्योति लिन धेरै टाढा–टाढा जानु पर्ने बाध्यता थियो । भएका स्कुलहरूले पनि राम्रो नपढाउने, शिक्षकले राजनीति गर्ने, अनि विद्यार्थीलाई राजनीति सिकाउनेले गर्दा शिक्षाको न त स्तर भयो, न त चाहिएको विषय पढेर देश विकासमा लगाउन सकियो । आम मानिसले क्ीऋ समेत फलामको ढोका भनी आतिने प्रवृत्ति र भ्लनष्किज र ःबतजझबतष्अक जस्ता विषयमा फेल भई जीवनमा कलेज नै जान नपाउने गराइयो । हाल शिक्षामा केही परिवर्तन त भयो तर आम मानिस र सर्वसाधारण जनताको पहुँचमा अझै शिक्षा छैन जस्तो लाग्छ, जहाँ–तहाँ असमानता छ अनि अस्तव्यस्तता छ ।
हामी शिक्षित त भयौँ तर शिक्षित मानिसले अब आउने चुनावका लागि मत माग्न आउनेलाई यी प्रश्नहरू सोध्ने बेला भएको छ ।
१. तपाईंले पढ्न चाहने र पढ्न नपाएका बालबालिकाको शिक्षाको लागि कस्ता कार्यक्रम ल्याउन सक्नुहुन्छ? मेरो छिमेकमा एक जना बच्चा पढ्न चाहन्थ्यो तर उसको आर्थिक अवस्था नाजुक छ र उसलाई स्कुल पुर्याउने मानिस पनि छैन, घर टाढा छ भने यस्तो बालबालिकालाई तपाईंले शिक्षा दिन कसरी पहल गर्नुहुन्छ?
२. पिल्सिएर मर्नु न बाँच्नु भई औषधि र सहारा नपाएका नागरिकलाई कसरी औषधि उपचार दिन सक्नुहुन्छ? पैसा तिर्न नसकी उपचार गराउन नपाउँदा अकालमै ज्यान जाने भयो भने त्यस्ता व्यक्तिका लागि केही खास व्यवस्था गर्न सक्नुहुन्छ?
३. हाम्रो क्षेत्र पर्यटकीय हिसाब र धार्मिक हिसाबले पनि उत्तिकै महत्वपूर्ण छ । तर यस्ता ठाउँमा जथाभावीको निर्माणले गर्दा उब्जाउयोग्य जमिन मिचिँदै गएको छ । खेती गर्ने मानिस विस्थापित हुने अवस्थामा पुगिसकेका छन् । भएका कुलो र सिँचाइ मिचिँदै गएका छन् । दिनदिनै अतिक्रमण भइरहेको छ । बाटो बनाउने नाममा रूख–बिरुवा मिचिँदै गएका छन् र नयाँ बिरुवा रोपिएका छैनन् । तर हाम्रो ठाउँलाई माथि लैजान राज्यले न आजसम्म कुनै ठोस कदम चालेको छ, न घुम्ने ट्रेल बनाई पर्यटक आकर्षित गरेको छ, न घुम्न आउनेलाई उचित व्यवस्थापन गर्न सकेको छ । अब तपाईं आउनुभयो भने यो क्षेत्रको विकास गर्न, यस क्षेत्रका मानिसहरूको जीवनस्तर उकास्न कस्ता कदम चाल्नुहुन्छ?
४. विभिन्न नाममा राज्यले रोजगारी कार्यक्रम ल्याउँछ । तर चाहिएको मानिसले त्यो नपाई जसको शक्ति उसको भक्ति छ । अब बेरोजगारलाई स्थानीय स्रोत र साधन प्रयोग गरी कसरी रोजगारी बढाउन पहल गर्नुहुन्छ? गर्छु भन्नेलाई स्थानीय स्तरमै कसरी रोजगारीको सिर्जना गर्नुहुन्छ? तपाईंको ठोस भावी योजना छ भने भन्नुस् ।
५. आजका बालबालिका भोलिका कर्णधार हुन् । यिनीहरूको विकास भएमा मात्र देशले कर्णधार युवा पाउँछ । सिकाइ गलत भयो भने देश बन्दैन । तर आज हाम्रो समाजमा बालबालिकालाई उचित कदर गरेको देखिँदैन । बालबालिकालाई पोषण कार्यक्रम, सिकाइको आवश्यकता र उचित न्यानो कपडासँगै चाहिएको बेला औषधिको आवश्यकता हुन्छ तर जसको स्रोत र साधन पुग्दैन त्यस्ता बालबालिकालाई हेर्ने कुनै नीति ल्याउन सक्नुहुन्छ ?
६. आजको दिनमा समाज परिवर्तनको नाममा विखण्डनको खतरा बढेको छ । सबै जात, धर्म, वर्ग, लिङ्गको साथै सबै क्षेत्रलाई समान रूपमा हेर्न सक्नुहुन्छ कि सक्नुहुन्न र समाजलाई एकजुट बनाउने कार्यक्रममा तपाईंका योजना कस्ता छन्? साथै समाजमा भइरहेका बेथिति र अराजकतालाई कसरी ठीक ढंगले नियन्त्रण गर्ने योजना छ ?
७. शान्ति सुरक्षा लाई कसरी हेर्नु भएको छ? प्रहरीको मनोबल बढाई जनतासँग हातेमालो गर्ने योजना कस्ता छन्? प्रहरी, नागरिक समाज र राजनीतिलाई कसरी मिलाएर लैजाने योजना छ? बढ्दो सहरीकरणसँगै नेपाल शान्ति क्षेत्र थियो र भोलि पनि शान्ति क्षेत्र हुनेछ भन्ने हाम्रो आशा छ तर बेला–बेला असामान्य घटना र विशेष द्वन्द्व र युद्धले नेपालको साख गिरेको जस्तो अवस्थामा नेपाल शान्ति क्षेत्र नै हो । यो गण्डक क्षेत्र, अत्यन्तै पवित्र भूमि हो । हिमाल, पहाड, तराई, मधेश, भौगोलिक, सांस्कृतिक महत्वको देशमा बाह्य पर्यटक भित्र्याई नेपाललाई समृद्ध बनाउने तपाईंको योजना के छ ?
८. कृषिप्रधान देश भनिए पनि न त किसानले समयमा मल पाएका छन्, न त उन्नत औजार, न त उन्नत बीउ–बिजन, न त उचित भाउ नै पाएका छन् । यो क्षेत्रलाई उत्पादन बढाउन, जग्गा बाँझो नछोड्नका लागि सिँचाइ लगायत कृषि उपज बढाउने तपाईंको योजना के छ ?
९. दिगो विकास र जनताको मुहारमा खुशी दिन कस्तो खालको योजना ल्याउनु भएको छ ?
१०. खानेपानी, सडक सुधारको साथै आधारभूत आवश्यकता पूरा गर्नका लागि केही योजना छन् ?
११. प्रविधिमैत्री शिक्षा र आजको विश्वलाई नेपालले टक्कर दिने शिक्षा दिन तपाईंका योजना के छन् ?
१२. आम नागरिकलाई एगदष्अि एबचप, बच्चा तथा युवालाई खेल मैदान, वृद्धलाई बस्ने आराम गर्ने ठाउँ लगायत अन्य सामाजिक विकास गर्नका लागि तपाईंको योजना के छ ?
१३. छिमेकी भनेको रिसाउँदा पनि आफ्नै र खुशी हुँदा पनि आफ्नै हो । त्यसैले छिमेकी राष्ट्रसँगको सम्बन्ध मजबुत हुनुपर्छ । अझ भनौँ दुई ठूला मित्र राष्ट्र भारत र चीन हाम्रा असल छिमेकी हुन् । यसको साथै अन्तर्राष्ट्रिय स्तरमै नेपालको छवि उच्च राख्न सबैसँग मिलेर असल परराष्ट्र नीति र राम्रो कूटनीतिक सम्बन्ध कायम राख्नुपर्छ । यसको लागि तपाईंका योजना कस्ता छन् ?
१४. औद्योगिक क्रान्ति गरी युवालाई रोजगारी दिने नीति तपाईंहरूको कस्तो छ? आज यो देशमा युवाको खाँचो छ । पौरखी हातको खाँचो छ । युवालाई देशमै सहज रूपमा बाँच्न दिने वातावरण राज्यले दिनुपर्छ । आम मानिस जनतालाई दिन सक्नु राज्यको कर्तव्य हो ।
१५. यहाँको कला, संस्कृति, यहाँको माटो, बनजंगल र हरियालीको साथै वातावरण जोगाउने तपाईंको योजना के छ?
नेपाल सुन्दर शान्त राष्ट्र हो । यहाँ हरेक पाइलापाइलामा स्वर्गको आभास गर्न सकिन्छ । विश्व सामु नेपाल अब राम्रो देश हो, यहाँका मानिस असल छन्, यहाँ राजनीतिक द्वन्द्व छैन, शान्ति सुरक्षा छ भनेर फैलाउने दिन आएको छ । पर्यटकीय मैत्री देश बनाई नेपालमा लाखौँ करोडौँ पर्यटकलाई आकर्षित गरी देशमा विदेशी मुद्रा मनग्य भित्र्याउन सकिन्छ । साथै नयाँ–नयाँ लगानी भित्र्याई उद्योग–धन्दा विकास गरी होनहार युवालाई देशमै बस्न पाउने वातावरण बनाउनु राज्यको दायित्व हो ।
अन्तमा भन्नुस्, हामीलाई कुनै महल दिनु पर्दैन, हामी झुपडीमै खुशी छौँ तर दुई छाक खान लगाउन र आनन्दसँग बस्ने वातावरण बनाउनुहोस् । हाम्रो बच्चाहरूले रोग, भोक र अशिक्षामा बाँच्न नपरोस् । तपाईंको भाषण सुन्ने फुर्सद हामीलाई छैन । हामीलाई हाम्रो गाउँ, हाम्रो समाज र हाम्रो राष्ट्र राम्रो बनाउनुहोस्, र यी सबै बनाउन काम गरेर देखाउनुहोस् । भोलि मलाई पर्दा तपाईं र आज तपाईंलाई पर्दा म छु । लोभ, लालच र भ्रष्टाचारमा नडुब्नुहोस् । सुशासन कायम गर्ने वचन दिनुहोस् । मेरो नेपाल आमालाई मेरो छातीमा सजाएर मेरो देशमा बाँच्न र सफा आर्यघाटमा मर्न दिनुहोस् ताकि गन्हाउने पानीले मेरो लासमा सेचन गर्न नपरोस् । हिमाल हाँसेकै देख्न पाऊँ । मधेस नाचेको देख्न पाऊँ । विकासको नारा मात्रै होइन, मूल फुटेको यी आँखाले हेरेर देशमै मर्न पाउने वातावरण बनाइदिनुहोस् । अब देशलाई सहिद चाहिएको छैन । नेपाल आमालाई रगतको खोला चाहिएको छैन । भ्रमको राजनीति छोड्नुहोस् । राम्रो कर्म गर्नुहोस्, अनि आफू पनि हाँस्नुहोस् र जनता पनि हाँसेको हेर्नुहोस् ।
मेरो देशले सपूत पाओस् । घरको मूलि आगतिलो भएमा घर बिग्रिन्छ र देशमा नेता आगतिलो भए देश सबै बिग्रिन्छ । आशा गरौँ अब आउनेले यी यावत कुरा हरूको मनन गरी नेपाललाई विकसित राष्ट्रको सूचीमा राख्न सकून् । नेता साझा हो, नेता सबैको विश्वास हो । जनता बिना नेता हुँदैन र शासक बिना देश हुँदैन । अब विश्वास गरौँ, नेपालमा नेता जनताको कुरा सुन्नेछन् र नेता जनताकै हुनेछन् ।