काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सहिद सप्ताहको अन्तिम दिन शुक्रबार लैनचौरस्थित सहिद स्मारक पुगी ज्ञात–अज्ञात सहिदहरुको सम्झनामा श्रद्धाञ्जली अर्पण गरेकी छिन् । सहिद दिवसका अवसरमा सरकारले शुक्रबार सार्वजनिक बिदा दिएको छ ।
प्रधानमन्त्रीले इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतको सम्मानमा श्रद्धाञ्जली अर्पण गरेकी हुन् ।
काठमाडौँ महानगरपालिकाले हरेक वर्ष माघ १० गतेदेखि सप्ताहव्यापी कार्यक्रम गर्दै आएको छ । साताव्यापी कार्यक्रमको अन्तिम दिन शुक्रबार सहिद उद्यान लैनचौरमा विशेष श्रद्धाञ्जली सभा आयोजना गरिएको हो ।
शान्तिवाटिकाबाट सहिद दिवसको अन्तिम दिन शुक्रबार बिहान प्रभातफेरी सुरु भएको थियो । शान्तिवाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र सहिदको तस्बिर राखिएको बग्गीसहितको प्रभातफेरी सहिद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जली सभामा परिणत भएको थियो ।