महेन्द्र शाही
सोलुखुम्बु, भदौ २५
हिमाली जिल्ला सोलुखुम्बुमै कोरोना संक्रमितको उपचार गरिने भएको छ । लक्षण नदेखिएको तर कोरोना पुष्टि भएकाहरूको जिल्ला अस्पताल फाप्लुको कोभिड १९ आइसोलेसन कक्षमा राखेर उपचार गरिने भएको अस्पतालकी निमित्त प्रमुख सानी शेर्पाले जानकारी दिइन् । स्वाब संकलन गरी पठाइएका मध्ये कोरोना पुष्टि भएकी एक युवतीलाई अहिले सोही अस्पतालमा राखेर उपचार सुरु गरिएको उनको भनाइ छ ।
राष्ट्रिय वाणिज्य बैंक सल्लेरीमा कार्यरत २५ वर्षीया युवतीको अहिले जिल्ला अस्पताल फाप्लुमै उपचार भइरहेको छ । स्वास्थ्य कार्यालयका प्रमुख रमेश खकुरेलका अनुसार सोमबार युवतीको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । उनको अवस्था सामान्य रहेको र कुनै पनि लक्षण नदेखिएकाले रेफर नगरिएको अस्पतालले जनाएको छ । ती युवती भदौ ११ गते काठमाडौंबाट सोलुखुम्बु आएकी थिइन् । उनीसँगै स्वाब संकलन गरी पठाइएका अन्य ५७ जनाको रिपोर्ट नेगेटिभ आएको छ । हालसम्म सोलुखुम्बुबाट स्वाब संकलन गरी पठाइएका तीन सय ६९ मध्ये आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसअघि कोरोना पुष्टि भएकाहलाई धरान र विराटनगरको कोभिड अस्पतालमा पठाउनुपर्ने अवस्था रहेको थियो । पछिल्लो समय सोलुखुम्बु, खोटाङ र ओखलढुङ्गाका लागि ओखलढुङ्गाको रुम्जाटारमा कोरोना अस्पताल निर्माण गरिएको छ । तर खोटाङको खोटाङ अस्पतालमा नै उपचार हुनेगरेको छ । जिल्लामा नै उपचार हुने भएपछि जिल्लाबाहिर पठाउनुपर्ने झन्झट हटेको छ । अब अवस्था गम्भीर भएका बिरामीलाई मात्र अन्यत्र पठाइने जिल्ला अस्पताल फाप्लुले जनाएको छ । जिल्लामा यसअघि कोरोना संक्रमण पुष्टि भएका सात जना निको भएर घर फर्किसकेका छन् ।