काठमाडौं । शौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेको छ । कम्पनीले कर्मचारी तथा श्रमिकहरूको स्वास्थ्य र कल्याणलाई उच्च प्राथमिकतामा राख्दै सिराहाको मिर्चैयास्थित कारखानामा स्वास्थ्य शिविर आयोजना गरेको जानकारी दिएको छ ।
उक्त स्वास्थ्य शिविर फूलकुमारी महतो मेमोरियल अस्पतालको सहकार्यमा सञ्चालन गरिएको हो । शिविरमार्फत करिब दुई सय ५० जना कर्मचारी तथा श्रमिकहरू लाभान्वित भएका थिए । यस क्रममा सहभागीहरूको सामान्य स्वास्थ्य परीक्षण, आवश्यक चिकित्सकीय परामर्श तथा स्वास्थ्यसम्बन्धी सचेतना प्रदान गरिएको थियो । यस कार्यक्रमको मुख्य उद्देश्य कर्मचारीहरूको स्वास्थ्यप्रति जिम्मेवार रहँदै सुरक्षित, स्वस्थ तथा उत्पादनशील कार्य वातावरण सिर्जना गर्नु रहेको थियो । शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले सामाजिक उत्तरदायित्व तथा कर्मचारी कल्याणलाई सधैं आफ्नो प्राथमिकतामा राख्दै यस्ता स्वास्थ्य तथा सामाजिक कार्यक्रमहरूलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।