काठमाडौं । पोल्याण्ड गणतन्त्रले नेपालका लागि मानार्थ वाणिज्यदूत जनरल लोकमान्य गोल्छालाई आफ्नो प्रतिष्ठित नागरिक सम्मान ‘अर्डर अफ मेरिट’ अन्तर्गतको अफिसर क्रस प्रदान गरेको छ ।
भारतका लागि पोल्याण्ड गणतन्त्रका कार्यवाहक राजदूत डा. आन्तोनी गिताल्स्कीले काठमाडौँस्थित होटल सोल्टीमा आयोजित औपचारिक समारोहमा उक्त सम्मान प्रदान गरेका हुन् । नेपालमा पोल्याण्डको स्थायी दूतावास नरहेकाले भारतको नयाँदिल्लीस्थित पोल्याण्ड दूतावासमार्फत नेपालसम्बन्धी कूटनीतिक तथा वाणिज्यदूत सेवा सञ्चालन हुँदै आएको छ । मानार्थ वाणिज्यदूत जनरल गोल्छाले नेपालमा रहेका पोल्याण्डका नागरिकलाई निरन्तर सहयोग प्रदान गर्नुका साथै नेपाल–पोल्याण्ड द्विपक्षीय सम्बन्ध सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । ‘अर्डर अफ मेरिट’ पोल्याण्डले विदेशी नागरिकलाई प्रदान गर्ने उच्चतम नागरिक सम्मानहरूमध्ये एक हो । यो सम्मान पोल्याण्ड राज्यप्रति असाधारण सेवा पुर्याउने तथा अन्तर्राष्ट्रिय सहकार्य र आपसी समझदारी प्रवर्द्धनमा उल्लेखनीय योगदान दिने व्यक्तिहरूलाई प्रदान गरिन्छ । यसअघि सन् २०१५ मा नेपालमा आएको विनाशकारी भूकम्पका समयमा देखाएको उल्लेखनीय योगदानको कदरस्वरूप पोल्याण्ड गणतन्त्रका राष्ट्रपति महामहिम आन्द्रेज डुडाले गोल्छालाई नाइट्स क्रस अफ द अर्डर अफ मेरिट प्रदान गरेका थिए ।
हाल प्रदान गरिएको अफिसर क्रस अफ द अर्डर अफ मेरिट कोभिड–१९ महामारीको कठिन समयमा गोल्छाले देखाएको प्रभावकारी नेतृत्व, नेपालमा रहेका पोल्याण्डका नागरिकप्रति निरन्तर सहयोग तथा लामो समयदेखिको समर्पित सेवाको उच्च मूल्यांकनस्वरूप प्रदान गरिएको पोल्याण्ड दूतावासले जनाएको छ । डा. गिताल्स्कीले गोल्छाले नेपाल–पोल्याण्ड सहकार्य प्रवर्द्धनमा पुर्याएको योगदान तथा जनस्तरको सम्बन्ध सुदृढ गर्न खेलेको भूमिकाको उच्च प्रशंसा गरे । यस्तै गोल्छाले यो सम्मान नेपाल र पोल्याण्डबीचका साझा मूल्य, आपसी सम्मान र दीर्घकालीन मित्रताको प्रतीक भएको बताए ।