जेन–जी आन्दोलनले प्रस्ताव गरेको आम निर्वाचन विधिवत् सुरु भएको केही दिनमै तिनै आन्दोलनकारी जेन–जीलाई जिस्क्याउने काम भइरहेको देखिन्छ । खासगरी यो आन्दोलनको स्वामित्व लिने भन्दै चुनावमा होमिएका र आफूलाई वैकल्पिक र नयाँ दलहरूका उम्मेदवारले त चुनावलाई एउटा नाटकीय रूपमा प्रस्तुत गर्दै कतिपय चटकसमेत देखाउँन थालेका छन् । त्यसमध्ये कुनै दलको परिचय नभएको आफूलाई नागरिक सरकार भन्न रुचाउने सरकारका चार जना सदस्यले जब चुनाव सुरुभयो तब फुत्त सरकार छाडेर दलका उम्मेदवार भए । कसैले दलै खोले, कसैले पुराना दलबाट टिकट पाए र कसैले स्वतन्त्र उम्मेदवारी दिए । चुनावी सरकारका चार मन्त्रीले नै यसो गरेपछि यो चुनाव आफैँमा के नागरिक सरकारले गराउन लागेको हो भन्ने प्रश्न खडाभयो । अवस्था कस्तोसम्म भने हिजोसम्म आफूहरू कुनै दलमा नभएको अर्थात् दलीय परिचय नभएको भनी आफूलाई परिचय गराइरहेकाहरू मनोनयन दर्ता गर्ने दिन फुत्त सरकार छाडेर कुनै दलबाट टिकट लिएर उम्मेदवार बनिहाले । त्यतिले मात्रै पुगेन । त्यसरी उम्मेदवारी दिनासाथ निर्वाचन आचारसंहिताको घोर उल्लंघनकर्ता पनि आफैँ भए । यसको अर्थ हो यी मन्त्रीहरूले चुनावलाई एउटा नाटकघर जस्तो ठाने वा बनाए ।
यस्तै दृश्यहरू अरू उम्मेदवारले पनि देखाइरहेका छन् । चुनावको केही साताअघि कुनै दलमा प्रवेश गरेर त्यसबाट आफू र श्रीमतीलाई उम्मेदवार बनाइहाले । यही मेसोमा आफूलाई परिवर्तनकारी दलका तर्फबाट उम्मेदवार भएकाहरूले यो चुनावमा उम्मेदवार बनेर मतदातामाथि ठूलो गुन लगाएको भन्नसमेत भ्याइरहेका छन् । उनका अनुसार आफूहरू देश बनाउन पोख्त भएको, देश बनाइदिन भन्दै युरोप, अमेरिका चीन र भारतलगायतका देशले बोलाइरहेका तर आफू नेपाल बनाउन भनेर उता नगएको भन्दै प्रचारका क्रममा लामा भाषण दिइरहेका दृश्यहरू सञ्जालमा आइरहेका छन् । यसले के देखाउँछ भने आफूलाई ठूला परिवर्तनकारी भनेर चिनाउने दलहरूले उम्मेदवारी तोक्दै चटकहरूलाई प्राथमिकता दिएका रहेछन् । उनका चुनावमा खडाभएका मध्ये उनका उम्मेदवार यस्ता नाटक देखाउनेमा सबभन्दा अघि रहेको पाइयो । त्यसै पनि नागरिक सरकारका प्रधानमन्त्रीले राजनीति गर्नेहरूले सरकार छोडभन्दा यो भनाइलाई सबभन्दा बढी समर्थन गर्ने मन्त्री थिए सरकरका प्रवक्ता तर मनोनयन गर्ने अघिल्लो दिन राजीनामा दिएर एउटा दलबाट उम्मेदवारी पनि दिए । उनको यो उम्मेदवारी पनि कस्तो रहृयो, यति धेरैले उम्मेदवारी दिएको अवस्थामा निर्वाचन आचारसंहिताको पालना गर्नु नपर्ने भनेर आफूलाई प्रस्तुत गरे तर निर्वाचन आयोगले भने कडा रूपको स्पष्टिकरण सोध्न प¥यो । आफँैले बनाएको आचारसंहिता आफँैले उल्लंघन गरेको यो घटना सामान्य होइन । जब सरकारका प्रवक्ताले नै यस्तो छद्म रूपमा काम गरेका रहेछन् भने सरकार कस्तो थियो होला भन्ने अनुमान गर्न सकिन्छ ।
सामान्य रूपको हिन्दी भाषासमेत बोल्न नजान्ने व्यक्ति भित्री मधेसका उम्मेदवार बनेका छन् । अझ यसमा हास्यापद कस्तो भने उनी एक्लै होइन दम्पत्ति नै उम्मेदवार छन् । यसले खासगरी यो चुनावमा उम्मेदवारी दिइएपछिका दिन कतै चुनाव नै चटकेहरूका हातमा जाने त होइन भन्ने प्रश्न खडा गरिदियो भने आश्चर्य नहोला । नाटक पनि कस्तो भने साइकल चढ्न जान्दैनन् । तराई भूभागमा साइकल नचढ्ने को होला । यो प्रश्नको उत्तर दिन उनी साइकल चढ्छन् र लढ्छन् । उनलाई लाग्दो हो आफूलाई साइकल चलाउँन जान्दैन भनेर हेपियो । तर सबैको कुदाइदिन खोज्दा साइकल त कुदेन । यी उम्मेदवार आफैँ केही बल्ढ्याङ खाएर उठे । भित्री मधेसको भूभागमा हिमाली जिल्लाका व्यक्ति उम्मेदवार बन्नु राम्रै होला प्रचारका जस्ता शैली अपनाइएका छन् त्यसलाई त्यो समाजले कसरी लेला भन्ने प्रश्न उठ्न सक्तछ । उम्मेदवारका अतिरञ्जना युक्त प्रचारले चुनावकै गरिमालाई व्यङ्ग्य गर्न थाल्यो भने सोच्नुपर्ने विषयमा पर्न सक्तछ । यो प्रवृत्ति कुनै एकजना उम्मेदवारको शैली भनेर पन्छाउन मिल्दैन । चुनावका समयमा नाटक गर्नेहरूको संख्या बढ्नु भनेको यस्तो निर्वाचनबाट खडा हुने संस्था यथास्थितिमा रहनु हो । सम्बन्धितहरूको ध्यान जाओस् ।