वि.सं. २०८२ भाद्र २३ गते राजधानीको जेन–जी विद्रोहमा संसद् भवन अगाडि बानेश्वर चौकमा पानी बाड्दै गरेको भेटिएको व्यक्ति (सुदन गुरुङ) सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्तिपछि मन्त्री बाड्दै हिडेका पनि भेटिए । त्यस्ता भेटिएका मध्ये एक शिक्षामन्त्रीमा नियुक्ति पाएका वहुचर्चित राष्ट्रभक्त महावीर पुनले पत्रकारलाई उत्तर दिदँ भनेका कुरा कि ‘आर्थिक अभावका कारण शिक्षामा अपेक्षित सुधार असम्भव’ त्यसैबखत ‘हेर हेर महावीरको भेडो बुद्धि’ शिर्षकमा पाठ्यक्रम अभिलेख गर्न चाहेको थिएँ । आर्थिक उपलब्धीको सबैभन्दा ठूलो खजाना खानी नै शिक्षा भन्ने इतिहास चेत नभएको मन्त्रीले अर्थको अभावमा शिक्षामा सुधारको सम्भावना नदेख्नु अस्वाभाविक थिएन । तर मन्त्री भइसकेपछि अब उहाँलाई नङ्ग्याउन ‘मेगेसेसे पुरस्कार’ पाएजति सबै बंगलादेशका युनुस जस्तै विदेशी दलालमात्रै हुन्छन् भन्ने भाष्य खडा गरेर १२ भाईलगायत विदेशी फन्डिङका युट्युव सामाजिक संजालले हैरान गरेर बसीखान नदिने निश्चित देखिएकाले त्यो पचाइसकेपछि लेख्छु ठानेर थाँती राखेको थिएँ । मेरो अन्दाजमा पुनले अब ति सबै अवगाल जानेर, बुझेर पचाइसकेको हुनुपर्छ । महावीर पुनले मन्त्रीमा नियुक्ति पाउनासाथ पहिलो गरेको हर्कत पशुपतिनाथको दक्षिण मुख अघोरभक्तको साधु सन्देश जस्तो रमाइलो लागेको थियो । उहाँले के गर्नुभयो भने आफ्नो आविष्कार केन्द्रको चुलोमा रहेका सारा भाँडाकुँडा ग्यास चुलो रासनपानी मन्त्रालयको सानदार वैठक कक्षमा सेट गरेर पत्रकारहरूलाई बोलाएर घिउले झानेको कोदोको ढिँडो असला माछाको झोलमा चोबेर स्वाद लिएर जिब्रो फट्कार्दै गरेको टिभी (युट्युव)का पर्दामा भाइरल तुल्याउँदै (मन्त्रीजो ठहरिनुभयो) भन्नुभयो, ‘हेर बाबु हो मन्त्री भएपछि यहाँ स्वाद फेरि फेरि खान जान्नुपर्छ । आजको मन्त्री भएर खानबाहेक अरु के नै गर्न सक्छ र’ तथ्यमा पुनको यो हर्कत (तथ्य उद्घाटन) साधु सन्देश जस्तै थियो । तपाईं सम्बोधन गरेर ठिकै गरेछु जस्तो लागेको हो । ‘महावीर पुनको दुइटा भेडोबुद्धि’ शीर्षकको प्रस्तुत आलेखमा एउटा ‘भेडोबुद्धि’को उदाहरण मन्त्रीबाट राजीनामा दिएर उम्मेदवारी नामाङ्कन दर्ता गरेका क्षण छर्लङ्ग भयो । चुनाव गराउने सरकार भोलि चुनावमा उठ्नेले मन्त्री हुन पाइँदैन भन्ने सिद्धान्त (प्रचलन÷मान्यता) मानेर होसो हवासमै स्वीकार गरेर मन्त्री भएको व्यक्तिले नोमिनेसनका दिन राजीनामा दिएर चुनावमा उठ्नु गैरजिम्मेदारीको पराकाष्टा देश, जनता, प्रणाली प्रति नै ठूलो धोखा, बेइमानी, खोटो नियत र पदुवा प्राडा वौद्धिक चरित्र प्रवृति थियो । ‘भेडोबुद्धि’ भनेको पछाडि फर्केर नहेर्ने इतिहासचेत शून्य एकहोरो । अगाडि हिँडेको भेडोले बाढी आएको खोलामा हामफाल्यो भने पछाडिका भेडाहरूले पनि एकहोरिएर हामफाल्छन् भन्ने आम जनबुझाइ छ । खासगरी महावीर पुनको ‘भेडोबुद्धि’को यो पहिलो उदाहरणमा मेरो खासै कुनै चासो होइन । प्रस्तुत आलेखको मुख्य पाठ्यक्रममा ‘भेडोबुद्धि’को अर्को उदाहरण ‘आर्थिक अभावले शिक्षामा सुधार असम्भव’ भन्ने समझलाई लिएर हो र यसमा महावीर पुन त एक प्रतीक विम्बमात्र हुनुभएको हो । तथ्यमा समग्रमै यतिखेरको राष्ट्रकै सबैभन्दा ठूलो समस्या चुनौतिको अध्याय छ । २००७ साल यताको नेपालको शिक्षानीतिमा अभ्यास भएर राम्रो परिणाम देखिएको एउटा स्वर्णिम इतिहास सुनियोजित प्रायोजित रुपमा लुकाइएको छ । खासगरी ०४६ सालको बहुदल यता पाँचसय हजार कति छन् भिसिका दावेदार पाठ्यक्रम निर्माता प्राडाहरू तिनीहरू प्रति पंक्तिकारको अहिलेका आम जनताको देउवा, ओली, प्रचण्डप्रति जति निन्दा, घृणा, अनादर छ त्यत्तिकै निन्दा र उपेक्षा हुनु मुलकारण पनि यहि हो । कुनै पनि मुलुकको तथ्य इतिहास लुकाइदिने त्यस देशका पाठ्यक्रम निर्माता प्राडाहरू राष्ट्रद्रोही जनघाती अपराधीहरू हुन् । तथ्य इतिहास लुकाउनु भनेको देश जनतालाई गुमराहमा पार्नु जस्तै हो । यो म किटेर भन्नसक्छु । किनभने कुनैपनि देश समाजको अगाडिको बाटो देखाइदिने उज्यालो भनेको त्यो देशको ‘शिक्षानीति’ नै हो । तथ्य इतिहासको एउटा विशेषता चाहि के हुन्छ भने लामो समयसम्म देशभरिका विश्वविद्यालयहरू लागेर ओझेलमा पार्न लुकाउन सक्लान तर सधैँभरिका लागि लुकाउन भने संसारभरिका विश्वविद्यालयहरू लागेर पनि सक्दैनन् । बीपीको जन्म वि.सं. १९७२, महेन्द्रको जन्म ७७ जम्मा ५ वर्षले जेठा कान्छा । आठसाल गृहमन्त्री हुँदा अन्तरङसंगत प्रारम्भ भएको बीपी २८ वर्षका महेन्द्र २३ वर्षका आजको भाषाका जेन–जी पुस्ता नै भनौँ । अन्तरङताको एउटा अवसर बीपीलाई कसरी जुर्यो भने– ‘राणाको जेलबाट जेहरूको जेलमा आइपुगेको छु’ फतफताइरहने राजा त्रिभूवन युवराज महेन्द्रले पहिलो रानी (इन्द्रराज्यलक्ष्मी)को स्वर्गारोहण भएर (२२ वर्ष उमेर) साली रत्नराज्यलक्ष्मी (रत्ना)सँग दोश्रो विवाह गर्न खोज्दा ‘युवराज पद छोडे छोड, तर फेरि राणाकी छोरी मरिगए पनि दरवार भित्र्याउदिन’ भनेर मानेनन् । ‘महेन्द्रले युवराज पद त्याग्दैछन्’ भन्ने सुइँको बीपीको कानसम्म आइपुग्यो । यो त गलत कुरा हो भनेर बीपीले आफ्नो फ«ायड बुद्धि सदुपयोग गरेर १३ वर्षको उमेरदेखि विलासितामा चुर्लुम्म डुवेका (चन्द्र शमशेरले यस्तै प्रवन्द मिलाएको थियो । लखनउदेखि छानी छानी नगरवधु झिकाइन्थ्ये –(इतिहास शिरोमणि बाबुराम आचार्य) । त्रिभूवनलाई मनाउन सफल भएर महेन्द्रको युवराज त्यागको धम्की (घुर्की) इज्जत जोगियो । यसबाट महेन्द्रका लागि एकप्रकारले पिता तुल्य ठूलो दाजु जस्तो अन्तरङगता प्रारम्भ हुनु एउटा बिर्सन नहुने इतिहास छ । राष्ट्रनायक महेन्द्र र जननायक बीपीको इरालाबीच बिजारोपण भएर अंकुरीत हुन थालिसकेको त्यो अन्तरङगता (सहृदयी सहयात्रा) कसरी कसका कारणले निमोठिन पुग्यो त्यसको तथ्य इतिहास पनि लुकाइएको छ । लामै कथा छ यहाँ अटाउँदैन । यहाँको सन्दर्भ चाहिँ के हो भने देशलाई कसरी विकास गरेर अगाडि बढाउने भन्ने सन्दर्भमा बीपी र महेन्द्रमा तीनवटा प्राथमिकता प्रथम चरणको छनोट थियो । (१) पहिलो शिक्षा (२) दोश्रो आधुनिक कृषि प्रणाली र (३) तेस्रो उत्पादन बढेपछि ढुवानीसेवा विस्तार अनिवार्य यातायात । राजासँग भएको यसै सल्लाहअनुसार बीपीले नेपाली काँग्रेसको १५ सालको घोषणापत्र लेख्नुभएको थियो । राजा महेन्द्रले ०१७ सालपछि शासन गर्दा बीपीलाई शारिरिक रुपमा जेल हाले पनि काम चाहिँ बीपी विचारलाई नै मार्गदर्शक बनाए । शिक्षामा पहिलो प्राथमिकता दिने बीपीसँगको सल्लाह अनुसार नै व्यवस्थासम्बन्धी प्राथमिक झण्झट सकेर पहिलो काम थाल्दा नै वि.सं. २०२१ सालदेखि ‘पाँच कक्षासम्म निःशुल्क अनिवार्य शिक्षानीति’ लागू भयो । पाठ्यक्रम कस्तो बनाइयो भने इतिहास, भूगोल, धर्म संस्कृति, रामायण महाभारतकथाहरू, गौरवशाली चिनारी गौतमबुद्ध, सगरमाथा, राष्ट्रनिर्माता पृथ्वीनारायण शाह, आदिकवी, महाकवी, कवी शिरोमणी, इतिहास शिरोमणी विशेषगरी नैतिक शिक्षा र अनुशासनमा केन्द्रित अर्थात् भनौँ न पाँचकक्षा पास गरेको नारगिकको चेतना विकास नवजागरणको स्तर नैतिक शिक्षाका हिसावले आजका हार्वडबाट पीएचडी गरेर आएकाहरूको भन्दा निश्चित रुपमा उच्चकोटीको हुन्थ्यो । यसरी पाँचकक्षा पास गरेको विद्यार्थीले अगाडिका पढाइ हाइस्कूल, कलेज, विश्वविद्यालय पढेर डिग्री लिन थालेपछि त उसको जागरणको स्तर चीन र भारतको आम जागरणलाईसमेत गौतमबुद्धको चेतनाको लाइट उज्यालो देखाइदिने स्तरको विकसित हुने सम्भावना प्रष्ट थियो । कुनै पनि देशमा भाँडभैलो मच्चाएर लुटतन्त्र मच्चाउनु छ भने सबैभन्दा पहिले त्यो देशको शिक्षानीति भाँडीदेउ भन्ने पश्चिमाहरूको नालन्दा, तक्षशिला जस्ता ११ विश्वविद्यालयहरूलाई एकै छमेलामा खरानी पारीदिएका घोषित नीति हो । राजा महेन्द्रबाट लागू भएको त्यो शिक्षानीति महेन्द्र बाँचुन्जेल हल्लाउने आँट कसैको भएन । महेन्द्रको मृत्युको डेढ महिना पनि पूरा हुन नपाउँदै हतार हतार ‘नयाँ शिक्षानीति २०२८’ लागू गरियो । त्यसबखत राजा वीरेन्द्रलाई गद्दी आरोहणको शुभकामना बधाइ फूलका थुँगा र ककटेल पार्टी सम्हाल्दैमा फुर्सद थिएन । योगी नरहरिनाथले ‘नयाँ शिक्षानीतिले राजसंस्थालाई त सर्वनास तुल्याउँछ, तुल्याउँछ राष्ट्रलाई पनि ठूलो धक्का पु¥याउँछ’ भनेर प्रतिवाद गर्दा अण्डकोषमा सुइरो रोपेर तिनाउ नदीमा फालिएको र योग बलले बाँच्नुभएको योगीका सहयात्री मित्र सोलुका बीपीका संगती काँग्रेसी नेता नरबहादुर कार्की (अघोर सम्प्रदायमा गुरुपद हासिल) बताउनुहुन्छ । ‘नयाँ शिक्षानीति’ विरोधकै क्रममा धनुषा जदुकुहाका दुई विद्यार्थी कामेश्वर र कुशेश्वर सहिद भएका थिए ।महेन्द्र बीपी प्रतिपादित शिक्षानीति मासेर ‘नयाँ शिक्षानीति’ लागू गर्दा यस्तो बलात्कार र डाकाशैली अपनाएको थियो कि प्राइमरि स्कुल ९ वर्षदेखि १५ वर्ष उमेरका विद्यार्थीका पाठ्यक्रमबाट नैतिक शिक्षा हटाइयो । साना साना नानीहरूलाई बाइबलका कथा कुथुङ्ग्रीका पाठ्यक्रमको यस्तो भारी बोकाइयो कि त्यस भारीमा थिचिएर सारा पुस्ता वहुराष्ट्रिय कम्पनीका यान्त्रिक मानव (रोवोट) मात्र उत्पादन भएर देश, जनता र प्रणालीको नीति निर्माणहरू तिनै यान्त्रिक मानिस हावी भए । यो त सरासर भविष्यमा आउने नेपाली जति सबै नैतिकता च्यूत विवेकहिन पशु समान खान बाहेक अरु केही चेतना जागरण नहुने बनुन् भन्ने प्रष्ट उद्देष्य देखिनु यसैलाई मैले बलात्कार र डाकाशैली भनेको हुँ । ‘नयाँ शिक्षानीति’ लागू भएको ५४ वर्षको परिणाम हेरौँ । पहिलो दुष्परिणाम शिक्षामा व्यापार घुसाएर अधिराज्यव्यापी वोर्डिङ स्कुलको जालो बिछ्याइयो र सरकारी स्कुललाई सुनियोजित ध्वस्त तुल्याइयो । आफ्ना छोराछोरी सरकारी स्कुलमा पढाउनु बेइज्जति जस्तो सामाजिक मनोविज्ञान स्थापित भयो । सारा मध्ययम वर्गीय परिवारलाई बोर्डिङ स्कुलमा पढाउनु बाध्यता जस्तो भयो । सामाजिक द्वन्द सम्झौताका हिसाबले कुनै पनि राष्ट्रको रिडको हड्डी मध्ययम वर्गीय परिवार भइरहेका हुन्छन् । वोर्डिङ स्कुलको शिक्षाको व्यापारले सारा मध्ययम वर्गीय परिवारको मिहिनेत आय आर्जन छोरा छोरी पढाउनकै लागि खर्च धान्नमै धौ धौ साङ्लोमा बाँधिएका जस्ता कतै चटपटाउन नसक्ने तुल्याइयो । बोर्डिङ स्कुलबाट उत्पादित वहुराष्ट्रिय कम्पनीका यान्त्रिक जमात राजनीतिक सत्ता, कर्मचारीतन्त्र र राजनीतिक दलहरूमा हावी भए । सम्पूर्ण जनसंख्याको यो हिस्सा २० प्रतिशतमा आउँछ भने सरकारी स्कुलबाट हाइस्कुल फेल ८० प्रतिशत जनसंख्याबाट ८० लाख बलिया पाखुरी जनसंख्या विदेशमा कामदार हुन लखेटिए । राजनीतिक प्रतिस्पर्धा र प्रतिरोध क्षमता राख्ने मध्ययम वर्गीय जनसंख्या वोर्डिङ स्कुलको साङ्लोमा जकडिन बाध्य भएपछि प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र मानव अधिकारको नाममा लुटतन्त्र, जनघात, राष्ट्रघातको हाली मुहाली स्वाभिाविक हुन पुग्यो । यसर्थ जबसम्म दोहोरो शिक्षा प्रणालीको अन्त्य भएर बोर्डिङ स्कुलहरूको राष्ट्रियकरण भएर राष्ट्रनायक राजा महेन्द्र र जननायक बीपी विचारअनुसार वि.सं. २०२१ सालदेखि ७ वर्ष चलेको शिक्षानीतिमा जादैनौँ तबसम्म कुनै पनि क्षेत्रले विकास र उन्नतिको बाटो नपाउने पक्का छ । यदि महावीर पुनमा अलिकति मात्रै पनि यो इतिहास चेत भएको भए शिक्षामन्त्रीमा नियुक्ति पछिको पहिलो वक्तव्य ‘वोर्डिङ स्कुललाई राष्ट्रियकरण गरेर दोहोरो शिक्षा प्रणालीको अन्त्य हुनुपर्छ’ हुन्थ्यो । यतिकुरा थाहा पाइसके पछि मैले ‘भेडोबुद्धि’ भनेकोमा पुन साब रिसाउनु हुन्न भन्ने विश्वास लिएको छु । अस्तु ।