काठमाडौं। यानमारमा सञ्चालनमा रहेका अनलाइन स्क्यामिङ केन्द्रमा संलग्न चार जना नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फर्काइएको छ । थाइल्यान्ड सरकारको सहयोगमा म्यानमारको म्यावडी क्षेत्रबाट उद्धार गरिएका उनीहरूलाई टाक इमिग्रेसन अफिस, मेसोट हुँदै बैंकक ल्याइ शुक्रबार नेपाल एयरलाइन्सको उडानमार्फत नेपाल पठाइएको नेपाली राजदूतावास, बैंककले जनाएको छ । उद्धार गरिएका चार जनामध्ये एक जना महोत्तरी, एक जना नुवाकोट र दुई जना दाङ जिल्लाका हुन् । उनीहरू सबैले स्नातक तहसम्मको अध्ययन पूरा गरेको दूतावासले जानकारी दिएको छ । दुतावासका अनुसार तीमध्ये एक जनाले थाइल्यान्डमै स्नातक अध्ययन पूरा गरी होटलमा रिसेप्सनिस्टका रूपमा काम गर्दै आएको र उच्च आम्दानीको प्रलोभनमा परी म्यानमार पुगेको बताएका छन् । दाङ जिल्लाका अर्का एक जनाले दाङकै एक सरकारी कार्यालयमा केही वर्ष कम्प्युटर अपरेटरको रूपमा काम गरेको अनुभव रहेको उल्लेख गरेका छन् ।
दूतावासका अनुसार उनीहरूलाई थाइल्यान्डमा डाटा इन्ट्री अफिसरको काम दिलाइने भन्दै नेपालबाट लगिएको थियो । तर थाइल्यान्ड पुगेपछि जबर्जस्ती म्यानमार पु¥याइ अनलाइन स्क्यामिङ कार्यमा संलग्न गराइएको पीडितहरूको भनाइ छ । यस घटनाले उच्च शैक्षिक योग्यता हासिल गरेका नेपाली नागरिकसमेत सामाजिक सञ्जाल, साथीभाई, आफन्त तथा आकर्षक विज्ञापनको प्रलोभनमा परी ठगीमा फस्ने जोखिममा रहेको देखाएको दूतावासले जनाएको छ । यसैबीच, कम्बोडियामा पनि यस्ता अनलाइन स्क्यामिङसम्बन्धी गैरकानुनी गतिविधिमा नेपाली नागरिकलाई संलग्न गराउने घटना बढ्दो क्रममा रहेको दूतावासले जनाएको छ । त्यस्ता स्थानमा फसेका नेपाली नागरिक वा उनीहरूका परिवारजनले दैनिक रूपमा उद्धारको माग गर्दै दूतावासमा सम्पर्क गर्ने गरेको र आवश्यक कन्सुलर सेवा उपलब्ध गराइँदै आएको बताइएको छ । तर कम्बोडियाको अध्यागमन कानुनअनुसार स्वदेश फर्किने क्रममा ठूलो मात्रामा जरिवाना तिर्नुपर्ने तथा लामो समय जेल बस्नुपर्ने अवस्थासमेत देखिएको दूतावासको भनाइ छ ।
थाइल्यान्ड जाने नाममा म्यानमार, कम्बोडिया तथा लाओसको गोल्डेन ट्रायएङ्गल क्षेत्रमा सञ्चालित स्क्यामिङ केन्द्रमा पु¥याइने जोखिम उच्च रहेकाले राम्रो आम्दानीको प्रलोभनमा नपर्न नेपाली राजदूतावास, बैंककले सबै नेपाली नागरिकलाई आग्रह गरेको छ ।