काठमाडौं ।नेपाल पुनर्बीमा कम्पनीका अध्यष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टचार मद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योग लिमिटेडका तत्कालीन महाप्रबन्धक हुँदा पौडेलसहित आठ जनाले क्लिंकर खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।मुद्दा दायर गरिएकाहरूमा पौडेलसहित तत्कालीन निमित्त महाप्रबन्धक नवल किशोर साह, नायब महाप्रबन्धक महेशप्रसाद काफ्ले, तत्कालीन महाशाखा प्रमुख सञ्जयकुमार लाल, महेशप्रसाद साह, रवीचन्द्र पौडेल, हरिप्रसाद अधिकारी र रामबहादुर जीसी छन् । अख्तियारले उनीहरूविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियार प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।प्रवक्ता न्यौपानका अनुसार अध्यक्ष पौडेल सहित आठ जनाको मिलेमतोमा कम तौल क्लिंकर भित्राई बढी भुक्तानी दिई सार्वजनिक सम्पत्ति हानि नोक्सानी पु¥याई भ्रष्टाचार गरेको आरोप अख्तियारको रहेको छ । अख्तियारले अध्यक्ष पौडेललाई १२ करोड ४७ लाख २२ हजार दुई सय ४२ रुपैयाँ ११ पैसा बिगो कायम गरी बिगोबराबरको जरिवाना कैद सजाय मागदाबी लिएको छ । तत्कालीन निमित्त महाप्रबन्धक नवल किशोर साहलाई ४६ करोड ५२ लाख ७४ हजार चार २६ रुपैयाँ २६ पैसा बिगो कायम गरी बिगोबराबरको जरिबाना र कैद सजाय मागदाबी गरेको अख्तियारले तत्कालीन नायब महाप्रबन्धक महेशप्रसाद काफ्लेलाई १२ करोड ६३ लाख ६९ हजार एक सय ६८ रुपैयाँ ३१ पैसा बिगो र बिगोबरारबरको जरिबाना र कैद सजाय हुनुपर्ने माग गरेको छ । त्यस्तै अख्तियारले उत्पादन महाशाखा प्रमुख सञ्जयकुमार लाललाई ४६ करोड ५२ लाख ७४ हजार चार सय २६ रुपैयाँ २६ पैसा बिगो कायम गरी बिगोबराबरको जरिबाना र कैद सजाय मागदाबी गरेको छ । अख्तियारले तत्कालीन भण्डार महाशाखा प्रमुख महेशप्रसाद साह, तत्कालीन कलिंकर उत्पादन विभाग प्रमुख रवीचन्द्र पौडेल, तत्कालीन सिमेन्ट उत्पादन विभाग प्रमुख हरिप्रसाद अधिकारी र तत्कालीन बिक्री विभाग प्रमुख रामबहादुर जीसीलाई पनि ४६ करोड ५२ लाख ७४ हजार चार सय २६ रुपैयाँ २६ पैसा बिगो र बिगोबराबरको जरिबाना र कैद सजाय मागदाबी गरेको छ ।उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम अख्तियारले मुद्दा चलाएको हो । ‘कम क्लिंकर भित्र्याएर बढी भुक्तानी लिए’ प्रवक्ता न्यौपानका अनुसार अध्यक्ष एवं तत्कालीन महाप्रबन्धक पौडेलसहित आठ जनाको मिलेमतोमा विभिन्न मितिमा कम क्लिंकर भित्र्याई बढी भुक्तानी दिइएको फेला परेको छ ।आर्थिक वर्ष २०७६÷७७मा वार्षिक मौज्दात विवरणमा क्लिंकर ५० हजार नौ सय ७५ मेट्रिक टन रहेको भनी अभिलेख देखिएकोमा उदयपुर सिमेन्ट उद्योग लिमिटेडबाटै भौतिक परीक्षण गरी मिति २०७७ पुस १६ मा पेस गरेको भौतिक परीक्षण प्रतिवेदनबाट ३९ हजार चार सय ५० मेट्रिक टन क्लिंकर मात्र मौज्दात रहेको देखिएकोबाट उक्त आर्थिक वर्षमा जम्मा ११ हजार पाँच सय २५ मेट्रिक टन वास्तविक हुनपर्ने भन्दा अस्वाभाविक घटी मौज्दात देखिएको थियो ।आव २०७६÷७७ सम्म घटी देखिएको ११ हजार पाँच सय २५ मेट्रिक टन क्लिंकरबाट आव २०७५÷७६ मा घटी देखिएको १० हजार दुई सय मेट्रिक टन घटाउँदा आव २०७६÷७७ मा मात्र एक हजार तीन सय २५ मेट्रिक टन क्लिंकर घटी रहेको देखिएको र उक्त क्लिंकरको लागत मूल्य १२ हजार दुई सय ६१ रुपैयाँ ६७ पैसा प्रति मेट्रिक टन रहेको देखिएको थियो । अध्यक्ष पौडेलसहित आठ जनाको मिलमतोमा वास्तविक हुनुपर्ने मौज्दातभन्दा अस्वाभाविक घटी देखाई एक हजार तीन सय २५ टन क्लिंकरको एक करोड ६२ लाख ४६ हजार सात सय १२ रुपैयाँ ७५ पैसा रकमबराबरको सार्वजनिक सम्पत्ति हिनामिना हानीनोक्सानी तथा मासेको तथ्य थाहा भएको थियो । २०७७ पुस मसान्तमा मौज्दात विवरणमा क्लिंकर ५५ हजार तीन सय ८५ मेट्रिक टन रहेको भनी अभिलेख देखिएकोमा उदयपुर सिमेन्ट उद्योग लिमिटेडबाटै भौतिक परीक्षण गरी २०७७ माघ १३ गते पेस गरेको भौतिक परीक्षण प्रतिवेदनबाट १७ हजार सात सय ४५ मेट्रिक टन क्लिंकर मात्र मौज्दात रहेको देखिएकोबाट उक्त समयसम्ममा जम्मा ३७ हजार छ सय ४० मेट्रिक टन वास्तविक हुनपर्नेभन्दा अस्वाभाविक घटी मौज्दात देखिएको थियो । उक्त परिमाणमा आव २०७६÷७७ सम्म घटी देखिएको ११ हजार पाँच सय २५ मेट्रिक टन घटाउँदा २०७७ साउन १ गते पुस मसान्तसम्ममा मात्र २६, हजार एक सय १५ मेट्रिक टन क्लिंकर घटी रहेको देखिएको थियो । उक्त क्लिंकरको लागत मूल्य १२ हजार चार सय १८ रुपैयाँ ३६ पैसा प्रतिमेट्रिक टन रहेको देखिएबाट वास्तविक हुनुपर्ने मौज्दातभन्दा अस्वाभाविक घटी देखिएको २६ हजार एक सय १५ टन क्लिंकरको तीन करोड २४ लाख ३० हजार पाँच सय ४७ रुपैयाँ १४ रकमबराबरको सार्वजनिक सम्पत्ति हिनामिना हानीनोक्सानी अध्यक्ष पौडेलसहित आठ जनाले गरेको थिए । क्लिंकर कम भित्र्याई बढी भुक्तानी दिएको विषयमा उद्योग मन्त्रालयको उपसविच नेतृत्वले तयार गरेका छानबिन प्रतिवेदनले समेत उनीहरूलाई दोषी ठहर गरेको थियो । मन्त्रालयले २०७९ मंसिर ११ गते उक्त प्रतिवेदन सरकारसमक्ष पेस गरेको थियो ।