सामाजिक सञ्जाल आजभोलि चुनावी सामग्रीले भरिभराउ भएको छ । तर्क–वितर्क, आ–आफ्ना उम्मेदवारको बढाइचढाइ गरिएका अन्तरवार्ता, लेख तथा पोस्टहरू प्रशस्त देखिन्छन् । तीमध्ये धेरै सामग्री जनता तथा मतदातालाई प्रभावित र झुक्याउने खालका छन्, जुन फेसबुक, टिकटक र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल माध्यममा छ्यासछ्याप्ती फैलिएका छन् । अझ एआईको प्रयोगका कारण जनता झन् भ्रमित भएका छन् । को राम्रो, को नराम्रो भन्ने छुट्याउनै नसक्ने अवस्था सिर्जना भएको छ ।
अहिले चर्चामा रहेका विषयमध्ये राजनीतिक दलहरूको र्याली र त्यसमा सहभागी भीडलाई ‘जनलहर’ वा ‘जनसागर’ भनेर प्रस्तुत गर्ने प्रवृत्ति बढ्दो छ । युट्युबरहरूले लाखौँको सहभागिता भयो भन्दै सामाजिक सञ्जालमा हल्ला फैलाउने गरेको पनि देखिन्छ । यस मामिलामा रास्वपा र बालेन पक्ष धेरै अगाडि देखिन्छन् ।
हालै रास्वपाले जनकपुरमा आफ्नो चुनावी अभियानको प्रारम्भ गर्यो । शक्ति प्रदर्शन गरियो, जनलहर उर्लियो भनेर व्यापक प्रचार गरियो । तर त्यहाँ आउनेहरू को थिए ? स्थानीयभन्दा बाहिरका, धेरैजसो नचिनिने मानिसहरू । भारतीय नम्बरप्लेटका गाडीहरू छ्यापछ्याप्ती देखिन्थे । यस्तै अभ्यास अन्य दलहरूले पनि गर्दै आएका छन् । सबै दलमा सहभागिता खासै कम हुँदैन । तर ती सहभागीहरू वास्तवमै फरक–फरक हुन् त ? दलका सदस्य र शुभेच्छुक मात्र हुन् कि अधिकांश बेरोजगार र कामविहीन मानिसहरू ? यदि ५० हजार सहभागी थिए भने, त्यो दिनको समय खेर गयो कि गएन ? अनि ती मानिसहरू पैसा दिएर ल्याइएका त होइनन् ? यदि त्यस्तो हो भने, भ्रष्टाचारको सुरुवात दलबाटै भएको पुष्टि हुन्छ ।
रास्वपाले काठमाडौं महानगरका प्रमुख बालेन शाहलाई प्रधानमन्त्री बनाउने घोषणा गरेलगत्तै उनले आफ्नो पदबाट राजीनामा दिएर रास्वपामा प्रवेश गरे । कस्तो अनौठो संयोग– हिजोसम्म ‘फु रास्वपा’ भन्दै विषवमन गर्ने व्यक्ति एकाएक कसरी वरिष्ठ नेता भएर पार्टीमा प्रवेश गर्न सके ? महानगरमा गरेका बाचा र प्रतिबद्धता समयावधि समाप्त नहुँदै पद त्यागेर मतदातालाई कसरी धोका दिन सके ? के यसले उनी अक्षम साबित भएको पुष्टि गर्दैन ? यही कारणले ‘दालमा कुछ कालो छ’ भन्नेहरूको संख्या बढ्दै गएको छ ।
बालेनको आगमनसँगै हेर्दाहेर्दै रास्वपामा परिवर्तन देखिन थाल्यो । बोल्दाबोल्दै नथाक्ने, जे पनि बोल्ने, जेल नै तोडेर भाग्न सक्ने क्षमता भएको भनिने रास्वपा अध्यक्ष चुनावको मुखमा ओझेल परे कि हराए भन्ने चर्चा पनि चल्न थालेको छ । सधैँ कुनै न कुनै बहाना बनाएर कारागारबाट समेत सामाजिक सञ्जालमा छाइरहने व्यक्ति अस्पतालमा बिरामी भएर बसेको तस्बिर सार्वजनिक गरिएको छ । यो केवल संयोग हो कि रास्वपाको योजनाबद्ध रणनीति—यो प्रश्न खुल्लै छ । कतिपयलाई त रास्वपा बालेनको कब्जामा गएको जस्तो लाग्न थालेको छ ।
सम्भावित प्रधानमन्त्रीको घोषणा त गरियो, तर त्यो सर्वोच्च पदमा पुग्न आवश्यक आधार के–के हुन् भन्ने कुरा रास्वपालाई थाहा छैन भन्ने त पक्कै होइन होला । न विचार मिल्छ, न उद्देश्य नै—तर गठजोड भइसकेको छ र अवस्था रहस्यमय बनेको छ । के रास्वपाका दिग्गज तथा बौद्धिक भनिने नेताहरूलाई यो घोषणाले चित्त बुझाएको छ ? हुन त सोही दलका एक वरिष्ठ नेता मनिष झाले घुमाउरो भाषामा असन्तुष्टि व्यक्त गरिसकेका छन् । यो निर्णय मन परेर गरिएको हो कि गराइएको—समयले नै देखाउनेछ ।
बालेनका अन्धभक्तहरू र केही युट्युबरहरूले सामाजिक सञ्जाल तथा मोबाइल फोनमार्फत हुने–नहुने भ्रम फैलाउने सामग्रीको व्यापक प्रसारण गरिरहेका देखिन्छन् । उम्मेदवारहरू पनि आफ्नै तालका र अपरिपक्व देखिए । एक नेताले स्याङ्जामा आफूलाई चुनाव जिताइदिए प्रधानमन्त्री बालेन, अनि रास्वपा अध्यक्षलाई जिल्लामा पदार्पण गराउने बाचा गरेको सुनियो— ‘बच्चा पाउने कता–कता, बच्चाको न्यारान’ भनेझैँ । क्या बात है, नेताजी ! त्यसमाथि गाई काट्न हुन्छ भन्ने तर्क पनि राख्न भ्याइयो ।
चुनावी अभियानका क्रममा झापाको कार्यक्रम प्रसारण गरिएको देखियो । चार–पाँच करोड रुपैयाँ पर्ने गाडीमा गरिब जनताको अगाडि, हिन्दी चलचित्रमा देखाइने राजा–महाराजाको सवारीझैँ प्रदर्शन गरिँदै, अनि डँडेलधुरा जाँदा महँगा मोटरसाइकल चढेको दृश्य देखाएर गरिब जनता र मतदाताबीच कस्तो सन्देश दिन खोजिएको हो—धेरैले बुझ्न सकेका छैनन् ।
समानुपातिक सदस्य सिफारिस गर्दा कुन पदमा कस्ता व्यक्तिलाई समेट्नुपर्छ भन्ने हेक्का नराखी देशका धनाढ्यका छोरा, छोरी र बुहारीलाई सिफारिस गरियो । आफ्नै कार्यकर्ताको असन्तुष्टि र जनदबाबका कारण धेरैले नाम फिर्ता लिन बाध्य हुनु पर्यो ।
उता काठमाडौंमा गरिब ‘भुइँ पसल’ राख्ने र ‘कबाडी व्यवसायी’हरूलाई उठिबास गरियो, उनीहरूको सानो कमाइ खोसियो, तर उचित व्यवस्थापन गरिएन । यसले गरिब र धनाढ्यप्रतिको फरक व्यवहार र नीति स्पष्टरूपमा उजागर गरेको छ ।
जेन–जी आन्दोलन २३/२४ मा उनको संलग्नता भएको चर्चा चुलिएको छ, जुन धेरै तथ्यले पुष्टि गरेका छन् । तर हालसम्म यस विषयमा एक शब्द पनि बोलेको सुनिएको छैन । हालको सरकार गठनमा उनको संलग्नता रहेको र उनका अगुवा–पछुवा मन्त्री मण्डलमा सहभागी गराइएको थियो । तर चार मन्त्रीहरूले आफ्नो कार्यावधि समाप्त नहुँदै राजीनामा दिएर रास्वपाका उम्मेदवार बन्नु, प्रतिबद्धतालाई लत्याएर जिम्मेवारीबाट पन्छिएको देखियो । यसले जनता आक्रोशित भएका छन् ।
कुनै फिल्मका सेलिब्रेटीझैँ जिल्ला–जिल्ला घुमिरहेको हो कि प्रस्तावित प्रधानमन्त्रीको रूपमा—धेरैले अझै बुझ्न सकेका छैनन् । नेपालमा फिल्मी कलाकार ज्योति मगर वा पल शाहका कार्यक्रममा पनि हजारौँको भीड लाग्छ । उहाँ जनताको नेता नभई सामाजिक सञ्जाल र प्रविधिका नेता त होइनन् भन्ने प्रश्न उठ्नु स्वाभाविक छ । बालेन साँच्चै रहस्यमय, पारदर्शी नभएको व्यक्ति मान्नुपर्छ ।
हिजोसम्म एउटा स्थानीय तहको प्रमुख भएर स्वतन्त्र रूपमा जितेकाले, विनायोजना र विनासहभागिता जे मन लाग्यो त्यो गर्न छुट थियो । प्रतिबद्धताको बेवास्ता गरे पनि सह्य थियो । तर प्रधानमन्त्री भएर देश हाँक्न आफ्नै दल, विपक्षी दल, संसद् र जनतासँग समन्वय गरेर काम गर्नुपर्ने बाध्यता हुन्छ । अपरिपक्व व्यवहारले कुनै पनि हालतमा देश अगाडि बढ्न सक्दैन ।
नेपाली कांग्रेसबाट नवनियुक्त सभापति गगन कुमार थापा पनि प्रधानमन्त्रीका दावेदार हुन् । उहाँ आगामी निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका छन् । उहाँको गतिविधि छर्लङ्ग र पारदर्शी देखिन्छ । विद्यार्थी जीवनदेखि राजनीतिमा लागेका उहाँ हाल विशेष महाधिवेशनको अगुवाइ गर्दै ६० प्रतिशतभन्दा बढी प्रतिनिधिको समर्थनमा सभापति निर्वाचित हुनुभएको हो । विद्यार्थी कालदेखि संघर्ष गर्दै हालको पदसम्म पुगेका उहाँ तीन पटक काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका छन् । संविधानसभा निर्माणदेखि मन्त्रालय सञ्चालन सम्मको अनुभव उहाँसँग छ ।
जेन–जी २३÷२४ को आगजनी घटनामा उहाँ र उहाँको परिवार पीडित हुन् । सो घटनाबारे सबैभन्दा पहिला धारणा राख्ने नेता, आफ्ना कमजोरी स्वीकार गर्दै जेन–जीसमक्ष क्षमायाचना गर्ने र नेपाली जेन–जीसँग मिलेर देश विकासमा अघि बढ्ने प्रतिबद्धता जनाउने नेता पनि उहाँ नै हुनुहुन्छ ।
कतिपय राम्रा, योग्य र इमानदार व्यक्तिहरू पनि निर्वाचनमा सहभागी भएका छन् । यदि सामाजिक सञ्जालको भुलभुलैयामा कसैको अन्धभक्त बनेर, विवेक प्रयोग नगरी, आवेशमा आएर, पैसाको खेलमा बिकेर, डर–त्रास वा लोभमा परेर अपरिपक्व र अयोग्य व्यक्तिलाई आफ्नो अमूल्य मत दिइयो भने देश ठूलो दुर्घटनातर्फ जाने निश्चित छ ।