काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छिन् ।
राष्ट्रियसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले वर्तमान सरकार कुनै पनि राजनीतिक दलको प्रभावमा नरहेकोले निष्पक्ष निर्वाचन हुने स्पष्ट पारेकी हुन् । केही मन्त्रीले पदबाट राजीनामा दिएर निर्वाचनमा भाग लिएकै आधारमा सरकारमाथि दलगत प्रभाव रहेको आरोप लगाइनु यथार्थपरक नभएको उनको भनाइ छ । अन्तरिम सरकारका मन्त्रीहरूले इमानदारीपूर्वक काम गरेको र राजीनामा दिएपछि निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनु स्वाभाविक अधिकार भएको उनले बताइन् । मन्त्री पद छाडेर निर्वाचनमा जानु बेइमानी होइन । उनले भनिन्, ‘यसै आधारमा सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी वा कुनै दलको प्रभाव छ भन्ने निष्कर्ष निकाल्नु गलत हो । सरकार कसैको प्रभावमा छैन ।’ हालै वर्तमान सरकारका मन्त्री रहेका कुलमान घिसिङ, जगदीश खरेल, महावीर पुन र बब्लु गुप्ताले राजीनामा दिएर निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रधानमन्त्री कार्कीले जेन–जी युवाहरूको अगुवाइमा २०८२ भदौ २३ र २४ गते भएको आन्दोलनको पृष्ठभूमिमा गठित अन्तरिम सरकारको नेतृत्व आफूले विषम परिस्थितिमा लिएको बताइन् । मुलुकलाई थप द्वन्द्वतर्फ जान नदिन, धनजनको क्षति रोक्न र संविधानिक प्रक्रियालाई पुनः लयमा ल्याउन प्रतिनिधिसभा विघटन गरी २०८२ फागुन २१ गते निर्वाचन गर्ने सिफारिस गरिएको उनको भनाइ छ । उनले आगामी प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न एकीकृत निर्वाचन सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको जानकारी दिइन् । आन्दोलनका क्रममा लुटिएका अधिकांश हतियार बरामद भइसकेको र सुरक्षाको पूर्ण प्रत्याभूति गरिएको उल्लेख गरिन् ।
भ्रष्टाचार न्यूनीकरण, पारदर्शिता र उत्तरदायित्वलाई सरकारको प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले प्रविधिमा आधारित सुशासनको मार्गचित्र अन्तिम चरणमा पुगेको जानकारी दिइन् । आफ्नो छोटो कार्यकालमा भत्किएका संस्थाहरूलाई पुनः व्यवस्थित गरिएको र नयाँ राजनीतिक संस्कृतिको आधार तयार गरिएको उनको दाबी छ । मुलुकमा भ्रष्टाचार, दण्डहीनता र अन्याय अन्त्यका लागि सबै निकाय एकजुट हुनुपर्नेमा उनले जोड दिइन् ।