काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी र व्यापारिक अवसरको खोजी गर्न आह्वान गरेका छन् ।
नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा जापानको टोकियोमा आयोजित जापानी व्यापारिक समुदायसँगको अन्तरक्रियात्मक कार्यक्रममा उनले नेपालमा लगानी गर्न आग्रह गरेका हुन् । उनले नेपाल जापानी निजी क्षेत्रसँग घनिष्ट साझेदारी निर्माण गर्न चाहने बताए । नेपाल सरकार विदेशी लगानीकर्तालाई पूर्ण सहयोग, सहजीकरण र सुरक्षा प्रदान गर्न प्रतिबद्ध रहेको उनले बताए । राष्ट्रपति पौडेलले नेपालले स्थिर आर्थिक वातावरण निर्माण गरेको र लगानीकर्तालाई आकर्षक प्रतिफल सुनिश्चित गर्ने व्यवस्था गरिएको बताए । कृषि, जलस्रोत, पर्यटन, उत्पादन, जलविद्युत्, सूचना प्रविधि र सेवा क्षेत्रलगायत अधिकांश क्षेत्र विदेशी लगानीका लागि खुला गरिएको जानकारी दिँदै उनले नेपालले उदार आर्थिक नीतिहरू अवलम्बन गर्दै कानुनी तथा संस्थागत सुधारहरू गरेको उल्लेख गरे । राष्ट्रपति पौडेलका अनुसार नेपाल लगानी बोर्डमार्फत ठूला लगानीकर्तालाई एकद्वार सेवा प्रदान गरिँदै आएको छ भने अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक तथा अन्तर्राष्ट्रिय मूल्यांकन एजेन्सीहरूले नेपाललाई दक्षिण एसियामै अनुकूल व्यावसायिक वातावरण भएका मुलुकमध्ये एकका रूपमा मूल्यांकन गरेका छन् ।
नेपाल भारत र चीनजस्ता दुई उदीयमान अर्थतन्त्रको बीचमा रहेको भौगोलिक अवस्थाले लगानीकर्तालाई थप लाभ दिने उनको भनाइ थियो । साथै, यस वर्षको अन्त्यसम्ममा नेपाल अति कम विकसित मुलुकको सूचीबाट स्तरोन्नति हुने र सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने लक्ष्य रहेको जानकारी दिएको उनको सचिवालयले जनाएको छ ।
कार्यक्रममा जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले स्वागत मन्तव्य राखेका थिए भने परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र सहसचिव भृगु ढुङ्गानाले नेपालमा लगानीका सम्भावनाबारे प्रस्तुति दिएका थिए । जापानी व्यापारिक समुदायका प्रतिनिधिहरूले नेपालमा उल्लेखनीय लगानी अवसर रहेको जानकारी पाउँदा उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।