झापा । भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट हुम्लाको जिल्ला खार्पुनाथ गाउँपालिका–२ की २६ वर्षीया रोशनी बुढा लागूऔषध खैरो हिरोइनसहित पक्राउ परेकी छन् । उनी यति एयरलायन्सको उडान नं ९२६ बाट काठमाडौँ जान लागेकी थिइन् ।
विगत दुई वर्षदेखि भारतको कोलकातास्थित जापानिज रेस्टुरेन्टमा वेटरका रुपमा कार्यरत उनलाई विमानस्थल सुरक्षा गार्डमा खटिएको प्रहरी टोलीले सोमबार अपराह्न जाँच गर्दा सुरुवालको दुवै गोजीमा १४४ ग्राम ४०० मिलिग्राम खैरो हिरोइन लुकाएर राखेको अवस्थामा बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बताए ।
उनको बयानका आधारमा लागूऔषध कारोबारको गिरोहमा संलग्न थप दुई व्यक्तिलाई काठमाडौँमा पक्राउ गरिएको सूचना अधिकारी खड्काले जानकारी दिए । हाल उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।
सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी गाउँपालिका–६ का ३० वर्षीय सन्तोष बञ्जारा र रामेछाप जिल्ला दोरम्बा गाउँपालिका–५ का २१ वर्षीय थोर्मस तामाङलाई सोही कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौँस्थित लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ ।