काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरसफाइको काममा खटिएका एक कर्मचारी सुनसहित पक्राउ परेका छन्।पक्राउ पर्नेमा सुनगाभा सगरमाथा सर्भिस प्रालि कम्पनीमार्फत सरसफाइमा खटिएका ४० वर्षीय डिकबहादुर राउत रहेका छन्। उनलाई विमानस्थल सुरक्षा प्रहरीले नियन्त्रणमा लिएको हो। विमानस्थल प्रहरीका अनुसार राउतले विमानस्थल परिसरमा रहेको डस्टबिनमा फालिएको फोहरबाट सुन संकलन गरी बाहिर लैजान खोजेका थिए। शंका लागेपछि उनको साथमा रहेको फोहरको पोको स्क्रिनिङ गर्दा ४.४ ग्राम सुन फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको विमानस्थल प्रहरीले जानकारी दिएको छ।