राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा तनहुँ–१ का उम्मेदवार स्वर्णिम वाग्लेले आफूविरुद्ध सामाजिक सञ्जालमार्फत् झुटा र भ्रामक विवरण फैलाइएको आरोप लगाउँदै साइबर ब्युरोमा उजुरी दिएका छन्। साइबर ब्युरोका एसपी दीपकराज अवस्थीका अनुसार वाग्लेबाट उजुरी प्राप्त भएको हो। उजुरीमा सामाजिक सञ्जालमा भ्रामक सामग्री सिर्जना गरी मानमर्दन गर्ने र सामाजिक सौहार्दता खलबल्याउने उद्देश्यले प्रचार–प्रसार गरिएको उल्लेख छ। त्यस्ता सामग्री प्रसारण गर्ने व्यक्ति तथा समूहको पहिचान गरी कानुनी कारबाही गर्न माग गरिएको छ। वाग्लेले उजुरीमा धर्म तथा व्यक्तिगत अवस्थासम्बन्धी विषयलाई लिएर भ्रम सिर्जना गर्ने सामग्री फैलाइएको दाबी गरेका छन्। नक्कली सामग्री सामाजिक सञ्जालमा प्रसारण भएको उल्लेख गर्दै उनले अफवाह फैलाउनेहरूलाई अनुसन्धानको दायरामा ल्याउन आग्रह गरेका छन्।उजुरीमा आफूलाई बागमती प्रदेशकी सांसद बताउने लक्ष्मी घिमिरे र मोहन लामा रूम्बाबाट प्रेषित सामग्रीले आफ्नो प्रतिष्ठामाथि आँच पुर्‍याउने नियत देखिएको समेत उल्लेख गरिएको छ। साइबर ब्युरोले प्राप्त उजुरीमाथि आवश्यक अनुसन्धान अघि बढाइने जनाएको छ।