काठमाडौं, सेयर बजार परिसूचक नेप्से पुनः खुम्चिएको छ । अघिल्लो दिन १२ दशमलव ५८ अंकले खुम्चिएको नेप्से परिसूचक साताको चौथो कारोबार दिन आज बुधबार कारोबार खुलेको केही समयमा २२ दशमलव १७ अंकले ओरालो लागेपछि केही समय कारोबार रोकिएको थियो । त्यसपछि क्रमशः सम्हालिएको नेप्से परिसूचक अन्तिम समयमा एक दशमलव ६४ अंकले ओरालो लागेर २६ सय ८१ दशमलव ५० विन्दुमा खुम्चिन पुगेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ७० अंकले ओरालो लागेर चार सय ५६ विन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय २६ वटा कम्पनीहरूको ८० हजार चार सय २२ पटकको कारोबारमा एक करोड ६६ लख ८२ हजार छ सय २६ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम सात अर्ब ४९ करोड ९७ लाख ४२ हजार ९८ रुपैयाँ कायम भएको छ । धितोपत्र बजारमा आज १३ वटा उपसमूहहरूको सेयर कारोबार भएकोमा छवटा उपसमूहहरूको सूचक ओरालो लागेका छन् भने बाँकी उपसमूहहरूको सूचक उकालो लागेका छन् । जसमध्ये वाणिज्य बैंक, जीवन बीमा, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष र अन्य उपसमूहको सूचक ओरालो लागेका छन् भने विकास बैंक, फाइनान्स, जलविद्युत्, निर्जीवन बीमा, होटल तथा पर्यटन र व्यापार उपसमूहका सूचक उकालो लागेका छन् ।