काठमाडौं ।कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रविधिका माध्यमबाट हुनसक्ने दुरुपयोग रोक्न योजनाबद्ध काम भइरहेको बताएका छन् ।निर्वाचन आयोग र सामाजिक सञ्जाल टिकटकबीच बुधबार भएको सम्झौता कार्यक्रममा उनले प्रविधिको दुरुपयोगलाई आयोगले रोक्ने बताए । उनले निर्वाचनका पक्षमा सङ्लिएको वातावरण धमिलिन नदिन टिकटकसँग ऐतिहासिक सम्झौता गरेको बताए । टिकटकबाट हुने आचारसंहिता उल्लंघन, मिथ्या सूचना रोक्न सहयोग पुग्ने उनको विश्वास छ ।
टिकटकले निःशुल्करूपमा निर्वाचनमा हुने दुरुपयोग रोक्न सहयोग गर्ने जनाएको छ । कार्यक्रममा आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराई र टिकटकका तर्फबाट सामाजिक नीति र सरकारी सम्बन्ध प्रमुख फेर्दोस अल मत्ताकिनले समझदारीपत्र आदानप्रदान गरेका थिए । प्रतिनिधिसभा सदस्य निर्वाचनको स्वच्छता कायम गर्न यसबाट सहयोग पुग्ने विश्वास गरिएको छ । निर्वाचनमा स्वच्छता प्रवद्र्धन तथा आयोगको क्षमता अभिवृद्धिका लागि टिकटकले सहयोग गर्ने भएको छ । साझेदारीले निर्वाचनसम्बन्धी सही, भरपर्दो र समयमै सर्वसाधारणको पहुँचमा सूचनाको पहुँच पु¥याउन सहयोग पुग्ने विश्वास आयोगले गरेको छ । समझदारीले निर्वाचनलाई असर पार्नसक्ने भ्रामक सूचना तथा हानिकारक सामग्रीको नियन्त्रणका लागि आयोगबाट भइरहेको प्रयासमा योगदान पु¥याउने विश्वास गरिएको छ ।