काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सप्तरी क्षेत्र नम्बर ३ का उम्मेदवार अमरकान्त चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिने भएको छ । उनीविरुद्ध विद्यालय भवन निर्माणमा भ्रष्टाचारको आरोपपछि अख्तियारले पत्र काटेको हो । आयोगले चौधरीसहित नौ जनालाई बयानका लागि इटहरीस्थित कार्यालयमा उपस्थित गराउन डाक्नेश्वरी नगरपालिकालाई पत्राचार गरेको छ ।
डाक्नेश्वरी नगरपालिका–५ स्थित श्रीकान्त चन्द्र नमूना माध्यमिक विद्यालयको भवन निर्माणमा मिलेमतो गरी भ्रष्टाचार गरेको उजुरीमा अनुसन्धान गर्नुपर्ने भएकाले माघ २३ गते उपस्थित गराइदिन नगरपालिकालाई अख्तियारले गत मंगलबार पत्र काटेको हो । चौधरी सो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुन् । त्यसैगरी सत्येन्द्र मण्डल, रुन्जी देवी सादा, कवितासिंह, श्यामाला देवी मण्डल, दुखरण मण्डल, रामसागर मण्डल सदस्य तथा योगेन्द्रप्रसाद मेहता तत्कालीन प्रधानाध्यापक र सुभाषकुमार साह तत्कालीन सहायक प्रधानाध्यापक हुन् ।
विद्यालय भवन निर्माणको काममा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले यसअघि पनि चार पटक पत्र पठाएर बयानमा बोलाइसकेको छ । तर उनीहरूले अटेर गर्दै आएका छन् । चौधरीकै बुवाले विद्यालयका लागि दान दिएको जग्गामा नमूना विद्यालयअन्तर्गतको शीर्षकमा भवन निर्माण, पुस्तक वितरण, प्रयोगशाला, कम्प्युटर ल्याब गरी एक करोडभन्दा बढीको बजेट संघ सरकारबाट आएको थियो । जसमध्ये ४९ लाख रुपैयाँ भ्रष्टाचार गरेको उजुरी परेको छ । चौधरीका बुबाले एक बिघा १७ कट्ठा जग्गा विद्यालयको नाममा अनुदान दिएको तर १४÷१५ कट्ठा मात्र विद्यालयको नाममा रजिस्ट्रेसन गरी बाँकी जग्गा आफ्नै अधीनमा राखेको उजुरीमा उल्लेख छ । सोही जग्गामा फुटबल खेल ग्राउन्ड निर्माणका लागि माटो भराउन करिब ९० लाख रुपैयाँ भ्रष्टाचार गरेको उजुरीमा उल्लेख छ ।