‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्। उनलाई शुक्रबार काठमाडौंको दक्षिणकाली नगरपालिका–चाल्नाखेल क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो।निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा निर्वाचन आयोगले प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेपछि सोही आधारमा प्रसाईंलाई पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए। यसअघि पनि प्रसाईं ५ माघमा पोखराबाट पक्राउ परेका थिए। त्यसबेला उनले कांग्रेसको विशेष महाधिवेशन पक्षधरले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ दिएको भन्ने विवादित अभिव्यक्ति दिएका थिए, जसपछि उनीमाथि छानबिन अघि बढाइएको थियो। प्रसाईंको पछिल्लो पक्राउसँगै उनीमाथि लगाइएका आरोप र अनुसन्धान प्रक्रिया फेरि चर्चामा आएको छ। प्रहरीले यस विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।