काठमाडौं, भदौ २५
सेयर बजार परिसूचक उकालो लागेको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक १३ दशमलव पाँच अंकले उकालो लागेर १५ सय आठ दशमलव २० अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव १९ अंकले उकालो लागेर दुुई सय ९९ दशमलव ६६ अंकमा चढेको छ । यसदिन कुुल एक सय ९४ कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार २९ हजार एक सय २४ पटकको कारोबारमा ५७ लाख ९८ हजार पाँच सय ३२ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम दुई अर्ब ५६ करोड ३४ लाख १५ हजार एक सय ८६ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । सोमध्ये दुईवटा समूहको सूचक ओरालो लागेका छन् भने बाँकी समूहको सूचक उकालो लागेका छन् । तीमध्ये पनि वाणिज्य बैंक समूहको सूचक एक दशमलव ८९ अंकले ओरालो लागेर १२ सय चार दशमलव ५६ अंकमा झर्दा विकास बैंक समूहको सूचक पाँच दशमलव ४८ अंकले ओरालो लागेर १७ सय ४६ दशमलव ३५ अंकमा झरेको छ ।
जलविद्युुत् समूहको सूचक भने यसदिन सात दशमलव दुई अंकले उकालो लागेर ११ सय एक दशमलव सात अंकमा चढेकोमा लघुुवित्त समूहको सूचक ५५ दशमलव ४४ अंकले उकालो लागेर २५ सय ७३ दशमलव ७७ अंकमा चढेको छ । निर्जीवन बीमा समूहको सूचक पनि दुुई सय ६१ दशमलव ८१ अंकले उकालो लागेर सात हजार सात सय ३६ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि एक सय ६६ दशमलव ७७ अंकले उकालो लागेर नौ हजार तीन सय ३१ दशमलव ५२ अंकमा चढेको छ । यीबाहेक ट्रेडिङ, फाइनान्स, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचक क्रमशः ३४ दशमलव नौ, २० दशमलव ४१, एक दशमलव ४९, २४ दशमलव २४, १९ दशमलव ३४ र शून्य दशमलव शून्य दुई अंकले उकालो लागेका छन् ।
यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य १० रुपैयाँले बढेर १० हजार आठ सय ६८ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० रुपैयाँले बढेर तीन सय ७४ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयर, सिभिल लघुुवित्त वित्तीय संस्था आदिको सेयर मूल्य पनि बढेका छन् ।
गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको सेयर मूल्य नौ रुपैयाँ ९२ पैसाले घटेर तीन सय ५४ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको कालिका पावर लिमिटेडको सेयर मूल्य चार रुपैयाँ ८० पैसाले घटेर एक सय १९ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक युनिभर्सल पावर लिमिटेड, जोशी हाइड्रोपावर कम्पनी लिमिटेड आदिको सेयर मूल्य पनि घटेका छन् ।
यसदिन पनि नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता आठ सय ९१ रुपैयाँ अन्तिम मूल्यमा २२ करोड ३१ लाख २२ हजार दुुई सय ८८ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक नागरिक लगानी कोषको प्रतिकित्ता ३६ सय ३२ रुपैयाँ अन्तिम मूल्यमा १८ करोड ६४ लाख सात हजार सात सय ८० रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक शिवम् सिमेन्ट, नेपाल बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।