बहालवाला प्रधानमन्त्री मात्र होइन भावी प्रधानमन्त्री पनि व्याापरीहरूले दिएका महँगा प्रकृतिका उपहारमा कसरी लोभिँदा रहेछन् भन्ने पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट भावी प्रधानमन्त्री भनेर घोषित बालेन्द्र शाह उदाहरण भएका छन् ।
पहिले बहालवाला प्रधानमन्त्रीले एक जना व्यापारीबाट जग्गादान लिएको विषयलाई संगठित अपराध, संगठित ठगी तथा खुलारूपले लिएको ठूलो घुस भनी प्रतिक्रिया दिने रास्वपाका नेताहरूले आफ्ना वरिष्ठ नेताले करोडभन्दा बढीको तस्करीबाट भित्र्याइएको आठ करोडभन्दा बढीको गाडी उपहारका रूपमा ग्रहण गरेको घटनामा भने मौन देखिए ।कतिसम्म भने यो दलका सभापतिले यस्तै काम गर्दा गिद्धले सिनो लुछेझैँ गरेको भनेर प्रतिक्रिया दिँदा आफ्ना दलका वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री भनी घोषित व्यक्तिले लिएको यस्तो उपहारलाई सिंहदरबार बदल्ने काम भनेर प्रशंसा गरे ।व्यापक परिवर्तन गर्ने भन्दै र आफूलाई नयाँ भनेर चिनाउने दलको व्यापारीबाट प्राप्त कुनै उपहारका बारेको एउटै विषयमा यस्तो दुई प्रकारको मान्यताले राजनीतिकर्मीका हदसम्मकै विद्रूप अवस्था नै प्रकट गर्ला ।
पहिलो पाइलो नै तस्करीको गाडीमा
गणतान्त्रिक संविधानले व्यवस्था गरेको तीनमध्येको एउटा, काडमाडौं महानगर सरकारका कार्यकारी प्रमुख, काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर तथा रास्वपाका तर्फबाट केन्द्रीय सरकारको कार्यकारी प्रमुख प्रधानमन्त्रीमा प्रस्ताव भएका बालेन्द्र साह ‘बालेन’ले प्रतिनिधिसभाको सदस्यका लागि छानिएको आफ्नो निर्वाचन क्षेत्रमा टेकेको पहिलो पाइलो नै करोडौँ भ्रष्टाचारको उपहारबाट सुरु भएको देखियो ।उनले आफ्नो उम्मेदवारी दर्ता गर्न जाँदादेखि निर्वाचन प्रयोजनका लागि विभिन्न जिल्ला घुम्दै गर्दा उनी आफैँ सवार भएको गाडी उनलाई उपहार दिने कुनै व्यवसायीले तस्करी गरेर ल्याएको रहेछ । उनी उता सुशासन स्थापना गर्ने भन्दै घुमिरहँदा यता अख्तियारले सम्बन्धित व्यवसायीको कारोबारमा छानबिन सुरु ग¥यो । त्यस क्रममा बालेन चढेजस्तै करिब एक दर्जन गाडी भित्र्याउँदा यो एक लटमा मात्रै करिब १२ करोड रुपैयाँ भन्सार छली भएको प्रारम्भिक अध्ययनमा नै देखिएका रिपोर्टहरू आइरहेका छन् ।प्रधानमन्त्री पदका लागि योग्य हुन प्रतिनिधिसभाको सदस्य हुनै पर्छ । त्यस्तो योग्यता प्राप्त गर्न बालेन झापाको ५ नम्बर क्षेत्रमा पुगेका थिए । यद्यपि उनी यो जिल्लाका मतदाता भने होइनन् । संविधानले जुनसुकै भू–भागको भए पनि मतदाता सूचीमा नाम छ भने जुनसुकै भू–भागको क्षेत्रबाट प्रतिनिधिसभाको सदस्यका लागि उम्मेदवार हुन पाइन्छ । बालेनले यही हक उपभोग गरेका हुन् ।
तर उनी उम्मेदवारी दर्ता गर्न जाँदा झापाको भद्रपुर विमास्थलबाट निस्किएर जुन वाहन चढे, जसको मूल्य आठ करोड हाहारीमा पर्छ, त्यो कुनै विवादास्पद व्यापारीबाट उपहारमा प्राप्त थियो । यो गाडी भाडामा लिएको भनेर अहिलेसम्म कुनै कागजपत्रमा देखिएको छैन । यो गाडीका मालिक जो हुन् गाडी भाडामा लगाउने व्यवसायी होइनन् । बरु उनलाई यो निर्वाचन अवधिभरका लागि उपहारस्वरूप दिइएको भनिएको अत्यधिक महँगो उक्त गाडी तस्करीको रहेछ भन्ने पुष्टि हुँदैछ ।एउटै कुरामा दोहोरो मान्यता
करिब एक वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एक व्यापारीबाट आफ्नो दलको भवन निर्माणका लागि जग्गादान लिएका थिए । त्यसलाई रास्वपा केन्द्रीय सदस्य, महामन्त्रीलगायतहरूले संगठित ठगी भन्दै एमालेले निर्णय सच्याउनुपर्ने टिप्पणी गरेका थिए । रास्वपा केन्द्रीय सदस्य गणेश कार्कीले आफ्नो सञ्जालमा लेखेका छन्–
‘दशैँको छेको पारेर सरकारले नै मुद्दा चलाइरहेका मीनबहादुर गुरुङबाट प्रम ओलीले पार्टीका लागि दक्षिणामा एक अर्बमाथिको जग्गा लिएको चाहिँ बिर्सन भएन । मुद्दा लगाउने र मुद्दा लाग्नेबीच शिलापत्रमै लेखेर गरिएको पहिलो खुला र निर्लज्ज लेनदेन हो यो । राज्य, नागरिक र विधिप्रतिको यस्तो हेपाइको निरन्तरता रोक्न पनि यो बिर्सन मिल्दैन । यो विषय नैतिक र वैधानिकरूपमै संवेदनशील र दीर्घकालीन असर पार्ने किसिमको छ । यसबारे चिया पसलदेखि संसद्सम्म प्रश्न उठ्नुपर्छ । यो अपराध एमालेले सच्याओस् ।’
यो प्रतिक्रियाले मात्रै रास्वपाको स्वर पुगेन । महामन्त्रीको नेतृत्वमा उक्त जग्गामै उभिएर लामो मौनधारण नै गरियो । त्यसपछि मन्तव्यमा भनियो, ‘प्रधानमन्त्रीले लिएको जग्गा दान होइन, घुस हो ।’ त्यसबेला उनले प्रधानमन्त्री ओलीले पार्टीको नाममा व्यवसायी मीनबहादुर गुरुङसँग जग्गा दान लिएको नभई घुस लिएको दाबी गर्दा सबैले ताली बजाएका थिए । उनले भने, ‘एमालेले १० रोपनी १४ आना जगा दान लिएको छ, जोसँग सरकारवादी भएर ललिता निवास काण्डमा मुद्दा चलिरहेको छ, नौ अर्ब बिगो भराउनुपर्ने मुद्दा छ । त्यही व्यक्तिसँग एक सय करोडको जग्गा दान लिने निर्णय गरेको छ, त्यो दान होइन, घुस हो । एक ठाउँमा सरकारको जग्गा दोहन गर्ने अर्को ठाउँमा दिने, योचाहिँ संगठित अपराध हो । संगठित ठगी हो । यो एउटा केसमा मात्रै भएको छैन, गिरीबन्धुमा पनि संगठित ठगी भएको छ ।’
अरुमाथि रविको आक्रोस
उता बालेन यस्तै ठूलो रकमको राजस्व छलीमा राज्यका निकायबाट अनुसन्धान गरिरहेका व्यवसायीबाट प्राप्त उपहारको गाडीमा चढेर रास्वपाको निर्वाचन प्रचारका लागि आफैँ गाडी हाँक्दै विभिन्न जिल्लाका निर्वाचन दौडाहामा लागिरहेकै बेला यता उनका सभापति भने सुशासनको चर्को वकालत गरिहेका थिए । त्यस क्रममा उनले अरु नेतालाई सिनो लुछ्ने गिद्ध भनेर संज्ञा दिए । यी क्रममा सभापति रवि लामिछानेले सामाजिक सञ्जालमा लामो विवरण लेख्दै भनेका छन्, ‘म सिंहदरबार पुग्न होइन सिंहदरबार बदल्न माग्दैछु घण्टीमा भोट । दलहरूका मसिहाहरूले राज्यका हरेक धमनीमा भरेको विष निकाल्न माग्नेछु तपाईँको भोट । एकाध पुल, एकाध भवन र एकाध सडकका तस्बिर बेच्ने कस्मेटिक सुधारमा मेरो कुनै रुचि छैन । कुशासनको मुख्यालय भएको सिंहदरबारबाट नै निलो क्रान्ति सुरु गर्ने प्रस्ट म्यान्डेटविना हामी हार्नु र जित्नुको कुनै महत्व हुनेछैन । वर्षौँअघि रोपिएको अस्थिरताको बीउ हुर्केर ठूलो वृक्ष बनेको छ । यस पटक यसको जरो नउखेली कहीँ कतै केही बदलिँदैन ।
भ्रष्टतन्त्रको ठेकेदार बनेर हामीलाई लोकप्रियतावादी, भिजनविनाका, नीति सिद्धान्तविनाका भनेर कसैले रोइकराइ गर्न पर्दैन । सबैभन्दा स्पष्टसँग लेखिएका रास्वपा–दस्ताबेज पढ्ने जाँगर विश्लेषणजीविहरूलाई नचल्नुको भारी हामीले कहिलेसम्म बोक्ने ? विचार सिद्धान्त, नीति सबै भएका भनिएका तपाईँहरूको नियत, कार्यक्षमता सब देखियो, भो अब थप नदेखाउनुस्, नपढाउनुस् । देश रसातलमा पुग्दा पनि भट्याएर नसकिएका तपाईँका विचारहरू तपाईँहरूलाई नै मुबारक । भारी भरकम शब्दहरू प्रयोग गरेर राजनीतिलाई कम्प्लिकेटेड बनाउनै पर्दैन, प्राप्त उपलब्धिसहितको लोकतन्त्र हामी जोगाउँछौँ, नसके जनता छन् । आ–आफ्नो राजनीतिक दोकान र सटर रंग्याउने छुट सबैलाई छ तर यो देश कुनै अमुक नेताले होइन जनताले जोगाएका हुन् । तिनै जनताको ताकतको बलमा मतपत्रमार्फत हामी सुशासनको घन्टी बजाउँदै, विकास–कूटनीति र अर्थ–राजनीतिको शानदार युगारम्भ गर्न चाहन्छौँ । गिद्धले सिनो लुछेजस्तै लुछिएको यो देश अन्तिम सुनामीको तयारीमा छ । मेरो खुला आग्रह छ— अझै पनि जो–जो मिल्नु छ, मिल । खुला मिल वा गोप्य मिल, जस्तो र जसको गठबन्धन गर्नुपर्ने हो, गर । अन्तिम शक्ति लगाऊ र यो सुनामी रोकेर देखाऊ, हामी मत परिणाम स्वीकार्छौँ तर जन विद्रोहले उखेलेर फालेको पुरानो संसद्, षड्यन्त्रपूर्ण ढंगले फर्काउने कुनै पनि चलखेल, दबाब र धम्की स्वीकार्दैनौँ । यतिका वर्ष पूरा देश लुटेर बनाइएको आपराधिक गिरोहबाट अब यो देश सदाका लागि मुक्त हुनेछ । केही थान बिचौलियाहरूको मुट्ठीमा कैद रहेको यस देशको भविष्य लेख्ने जिम्मा तपाईँको हातमा सुम्पिएका छौँ । मात्र तपाईँको हातमा । तपाईँको, रवि लामिछाने ।’रविले अरुहरूबारे यस्तो आक्रोस पोखिरहेका बेला बालेन्द्र साहले आफ्नो उम्मेदवारी दर्ता र त्यसपछिका चुनावी अभियानमा विभिन्न जिल्ला घुम्दा प्रयोग गरेको अत्याधुनिक मोडेलको ल्यान्ड रोभर डिफेन्डर गाडी भन्सार छलेर नेपाल भित्र्याइएको खुल्यो । तर यसबारे भने न रवि, न अरु नेता कोहीले केही बोले ।यतिबेलासम्म बालेनले उपहारमा पाएको यो गाडीका बारे धेरै समाचार आइरहेकै थिए । त्यसमा बालेन आफैँले चलाएको यो गाडी करेन्ट चाउचाउका मालिक कमलकिशोर मालपानीका छोरा रितेशको नाममा दर्ता भएको विवरण उल्लेख भएका छन् । बालेनले चुनावी अभियानमा आफैँ हाकेर प्रयोग गरिहेको सो गाडी करिब एक करोड भन्सार छलेर नेपाल भित्र्याइएको खुल्दा पनि यसबारे यी भावी प्रधानमन्त्री र उनको दल रास्वपा मौन रह्यो । जसको नाममा यो गाडी दर्ता छ अर्थात् यसका मालिक मालपानी करोडौँ कर छलीलगायतका विवादास्पद पृष्ठभूमिका व्यक्ति हुन् भन्ने पहिलेदेखि नै चर्चित थियो ।
गाडीका मालिक नितेश सञ्चालक रहेको त्रिमूर्ति इन्डष्ट्रिज प्रालि कर छलीका सन्दर्भमा सधैँ विवादमा आइरहेको कम्पनी भनेर चिनिँदै आएको भनी समाचारमा नै लेखिँदै आएका छन् । समाचार विवरणमा उल्लेख भएअनुसार बालेनले प्रयोग गरेको बागमती प्रदेश–०१–०३३ च ४३४३ नम्बरको उक्त गाडी काइरोस इन्टरनेसनलले भन्सार छलेर नेपाल भित्र्याएको देखिन्छ । जुन विवादास्पद व्यापारी राकेश अडुकियाले आफन्तको नाममा कम्पनी खोलेर कम भन्सार मूल्यमा गाडी भित्र्याउँदै आएका छन् । अडुकियासँग कमल मालपानीले पनि गाडी तस्करीको साझेदारीमा काम गर्दै आएको भन्सार विभाग स्रोतको दाबी रहँदै आएको पाइन्छ । यस्तोमा बालेन्द्र शाह सिंहदरबार प्रमुख भए भने त्यो सिंहदरबार कसरी बदलिन्छ ?, दलहरूका मसिहाहरूले राज्यका हरेक धमनीमा भरेको विष कसरी निकालिन्छ ?, कुशासनको मुख्यालय भएको सिंहदरबारबाट नै बालेन नेतृत्वमा निलो क्रान्ति कसरी सुरु हुन्छ ?, वर्षौँअघि रोपिएको अस्थिरताको बीउ हुर्केर ठूलो बनेको वृक्षको जरो कसरी उखेलिन्छ ? रविले जवाफ दिऊन् ।