काठमाडौं, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का तत्कालीन महानिर्देशक प्रदीप अधिकारीलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । शुक्रबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको संयुक्त इजलासले विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने गरी गरेको आदेश सदर गरेको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको नलिञ्चोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको भन्दै उनीविरुद्ध मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा विशेष अदालतले मंसिर २१ गते थुनामा पठाउने आदेश दिएको थियो । अधिकारीले विशेषको आदेश बदर गर्न माग गर्दै माघ २१ मा सर्वोच्चमा निवेदन दिएका थिए । सर्वोच्चले अधिकारीको थुनामुक्त अस्वीकार गरेपछि अब मुद्दा चलुञ्जेल थुनामै बसेर भ्रष्टाचार मुद्दाको पुर्पक्ष गर्नुपर्ने भएको छ । अख्तियारले तत्कालीन महानिर्देशक अधिकारीसहित छ जनाविरूद्ध हेलिपोर्ट निर्माणमा १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ भ्रष्टाचार बिगो कायम गर्दै गत मंसिर १७ गते अदालतमा मुद्दा दायर गरेको थियो ।