काठमाडौं । नेपाल चिकित्सक संघले दैनिक प्रयोगमा आउने दन्तमञ्जनसहित मुख तथा दन्त सरसफाइका सामग्री र विभिन्न सौन्दर्य सामग्रीमा मानव स्वास्थ्यका लागि हानिकारक सिसा (लिड)को मात्रा पाइएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ । जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र (सेफेड)ले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले गम्भीर तथ्य देखाएको भन्दै संघले बालबालिकासहित आमनागरिकको स्वास्थ्यमा गम्भीर असर पु¥याउने यस्ता सामग्रीको गुणस्तर मापन गरी कडा निगमन गर्न नेपाल सरकारसँग माग गरेको छ । एक विज्ञप्ति जारी गर्दै संघले देशका विभिन्न सहरका पसलबाट संकलन गरिएका नमूनाको परीक्षण गर्दा ३१ प्रतिशत नमूनामा अन्तर्राष्ट्रिय रूपमा स्वीकृत मापदण्डभन्दा बढी सिसा भेटिएको तथ्य सार्वजनिक हुनु गम्भीर विषय भएको जनाएको छ । विशेषगरी दैनिक प्रयोग हुने दञ्तमञ्जनका ४५ प्रतिशत नमूना र बालबालिकाका लागि बजारमा उपलब्ध केही सामग्रीमा समेत सिसा भेटिएको जनाइएको छ ।बालबालिकामा सिसाको असरले बौद्धिक विकासमा अवरोध, सिकाइमा कठिनाइ, व्यावहारिक समस्या देखिनुका साथै दीर्घकालीन रूपमा दृष्टि, श्रवण र स्नायु प्रणालीमा गम्भीर नकारात्मक प्रभाव पार्ने वैज्ञानिक प्रमाणहरू रहेको संघले उल्लेख गरेको छ ।