विदेशी लगानीकर्ताले नेपालको औद्योगिक तथा व्यावसायिक क्षेत्रमा गरेको लगानीको प्रतिफलस्वरूप १० अर्ब रुपैयाँभन्दा बढी लाभांश लगेका छन् । आर्थिक वर्षको छ महिनामा विदेशी लगानीकर्ताले नेपालबाट १० अर्ब ३३ करोड ४५ लाख रुपैयाँ लाभांश लगेका हुन् ।विभागका अनुसार साउनदेखि पुससम्म विदेशी लगानीकर्ताले लगानी प्रतिफलस्वरूप लैजाने लाभांश १० गुणाले बढेको छ । गत आर्थिक वर्षको छ महिनामा एक अर्ब ६१ करोड ६० लाख रुपैयाँ मात्र विदेशी लगानीकर्ताले लगेका थिए । यस वर्ष पुसमा मात्र पाँच अर्ब ३० करोड ४५ लाख रुपैयाँ लाभांश वितरण गरिएकोले चालू आवको लाभांश वितरण धेरै देखिएको विभागका सूचना अधिकारी सुरेश दाहालले जानकारी दिए ।गत आर्थिक वर्षमा १० अर्ब १८ करोड ७६ लाख रुपैयाँ लाभांश वितरण गरिएको थियो । योसँगै गत आवको तुलनामा चालू आवको छ महिनामा लाभांश वितरण बढी देखिएको छ । उनका अनुसार लगानी प्रतिफलस्वरूप लाभांश लैजाने समय निश्चित नहुँदा कुनै महिना धेरै र कुनै महिना थोरै लाभांश वितरण देखिन गरेको छ । सेवा, पर्यटन र सञ्चार प्रविधमा लगानी गरेबापत विदेशी लगानीकर्ताहरूले ठूलो लाभांश लैजाने गरेका छन् । यसका अलावामा कृषि तथा वन पैदावरमा आधारित, ऊर्जामूलक, सूचना, प्रसारण तथा सञ्चार प्रविधि र उत्पादनमूलक उद्योग तथा व्यवासाय सञ्चालन गरी मुनाफास्वरुप लाभांश वितरण गरिएको पाइन्छ । नेपाल उद्योग तथा व्यवसाय क्षेत्रमा लगानी गरेबापत विदेशीहरूले निरन्तर लाभांश लैजाने गरेको सूचना अधिकारी दाहालले जानकारी दिए । उनका अनुसार मासिकरूपमा लाखौँ रकम लाभांशबापत लैजान गरेका छन् । विदेशीहरूले न्यून संख्यामा मात्र ठूलो उद्योगमा लगानी गरे पनि साना र मझौला उद्योगमा प्रशस्त लगानी रहेको कारण लाभांश लैजान गरेको विभागले जनाएको छ । उनीहरूले लगानी प्रस्ताव उद्योग विभागमार्फत गर्छन् भने लगानी भित्र्याउने तथा लाभांश लैजाने काम भने राष्ट्र बैंकमार्फत गर्छन् । विदेशी लगानीको हकमा लाभांश लैजान, लेखाङ्कन गर्न भने राष्ट्र बैंकमार्फत गर्नुपर्ने हुन्छ । त्यसैले गर्दा आर्थिक वर्षको अन्त्यमा कायम रहेको विनियम दर (खरिद र बिक्री दरको औसत)लाई लिई उक्त रकम मूल्यांकन गरिएको राष्ट्र बैंकले जनाएको छ । विभागका अनुसार १५ वटाभन्दा बढी मुलुकका लगानीकर्ताहरूले उक्त लाभांश रकम लगेका हुन् । नेपालको उद्योग क्षेत्रमा लगानी गरी सबैभन्दा धेरै लाभांश लैजानेमा भारतीय उद्योगी तथा व्यवसायीहरू रहेका छन् भने त्यसपछि क्रमशः आइरल्याण्ड, अष्ट्रेलिया, बेलायत, पाकिस्तान, मौरिसस, सिगांपुर, बंगलादेशलगायतका उद्योगी तथा व्यवसायीहरू रहेका छन् । पछिल्लो १५ महिनामा मात्र नभई सोभन्दा अघि पनि निरन्तर लाभांश लगेको विभागका तथ्यांकमा देखिन्छ । गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालू आर्थिक वर्षको पाँच महिनाको अवधिमा लाभांश वितरण करिब छ गुणाले बढी हो । चालू आवको पाँच महिनाको पाँच अर्ब तीन करोड रुपैयाँ लाभांश वितरण गर्दा गत आवको सोही अवधिमा लाभांश वितरण ८५ करोड १६ लाख रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०८०÷८१ मा १० अर्ब ३५ करोड ८५ लाख रुपैयाँ र आर्थिक वर्ष २०७९÷८० मा मात्र १६ अर्ब ७६ करोड ९३ लाख रुपैयाँ लाभांश वितरण गरिएको छ । विभागले मासिकरूपमा लाखौँ रकम लाभांश वितरण गर्दै आएको हुँदा लाभांश रकम मासिकरूपमा बढ्दै गएको देखिन्छ । यता विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका अनुसार पछिल्लो समय लाभांश रकम लैजानको लागि आवेदन प्रक्रिया पूरा गर्नेको संख्या बढ्दै गएसँगै लाभांश रकम बढ्दै गएको हो । लगानी गरेपछि प्रतिफल लैजान प्रक्रियागत र कानुनीगत समस्या नभएसँगै रकम लैजाने क्रमले निरन्तरता पाएको हो  ।विदेशी लगानीकर्ताले लगानी गरेपछि लाभांश लैजाने मात्र नभई यहाँको नियमअनुरूप विभिन्न दस्तुरहरू बुझाउने गरेका छन् । चालू आवको छ महिनामा तीन अर्ब ९० करोड ३६ लाख रुपैयाँ राजस्व संकलन भएको छ । गत आवको छ महनिामा ६० करोड ८३ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । यसैबीच चालू आवको पुसमा मात्र दुई अर्ब २७ करोड ६९ लाख रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ । योसँगै लाभांश वितरणजस्तै राजस्व संकलनमा समेत वृद्धि भएको देखिन्छ । विभागका अनुसार चालू आवको पाँच महिनामा भने एक अर्ब ६२ करोड ६७ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । मंसिरमा मात्र १४ करोड आठ लाख रुपैयाँ राजस्व संकलन भएको हो । गत आवको पाँच महिनामा ३८ करोड २२ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । विभागले लाभांश वितरण राजस्व संकलनका साथै उद्योगको सेयर खरिद सम्झौता (एसपीए) र साझेदारी सदस्यता सम्झौता (एसएसए)लगायतका कामहरू गरेको छ । समीक्षा अवधिमा विदेशी लगानीकर्ताहरूले नेपालमा रहेको उद्योगको लागि सेयर खरिद सम्झौता (एसपीए) र साझेदारी सदस्यता सम्झौता (एसएसए) गरेको पाइन्छ । सरकारले विदेशी लगानीलाई सहजीकरण गर्नका लागि स्वचालित मार्गबाट समेत लगानी भित्र्याउने र लभांश वितरणको काम गरेको छ । विदेशी लगानीकर्ताले स्वचालित मार्गबाट नेपालमा लगानी गर्दा सातवटा औद्योगिक तथा व्यावसायिक क्षेत्रका ६० प्रकारका उद्योग तथा व्यसायमा लगानी गर्न पाउने व्यवस्था गरिएको छ । लगानीपछि प्रतिफलस्वरुप लाभांश लैजाने गरेका छन् । विदेशी लगानीकर्तालाई प्रत्यक्ष विदेशी लगानी तथा हस्तान्तरण ऐन, २०७५ ले नेपालमा रहेको उद्योग क्षेत्रमा लगानी गर्ने अधिकार प्रदान गरेको छ । ‘औद्योगिक व्यवसाय ऐन–०७५’ अनुसार १० करोड रुपैयाँसम्म स्थिर पुँजी भएको साना, १० करोड रुपैयाँदेखि २५ करोड रुपैयाँसम्मको स्थिर पुँजी भएको मझौला र २५ करोड रुपैयाँभन्दा बढी स्थिर पुँजी भएको ठूला विभागले दर्ता गर्छ ।