मुग्लिङ–काठमाडौं सडकखण्डअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–६ स्थित दसकिलोमा दुई वटा बस एकआपसमा ठोक्किँदा यात्रु घाइते भएका छन्।आज बिहान करिब साढे ७ बजे दाङबाट काठमाडौं आउँदै गरेको प्रदेश नम्बर ३–०१–००६ ख १५५२ नम्बरको बस र काठमाडौंबाट रसुवागढीतर्फ जाँदै गरेको बा।प्र।०१–००६ ख ५२०६ नम्बरको रिजर्भ बस एकआपसमा ठोक्किएका हुन्। दुर्घटनापछि एउटा बस अनियन्त्रित भई सडक किनारमा रहेको टिनले छाएको कच्ची पसलमा समेत ठोक्किँदा पसलमा क्षति पुगेको प्रहरीले जनाएको छ। पसलमा रहेका व्यक्तिहरू र बसमा सवार यात्रुहरू घाइते भएका छन्।घाइतेहरूको उद्धार गरी उपचारका लागि धादिङको थाक्रे पोलिक्लिनिक तथा काठमाडौंका विभिन्न अस्पताल पठाइएको छ। घाइतेहरूको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न प्रदेश ३–०१–००६ ख १५५२ नम्बरको बसका चालक दाङको तुलसीपुर उपमहानगरपालिका–६ निवासी २४ वर्षीय सन्तोष नेपालीलाई इलाका प्रहरी कार्यालय खानीखोलाले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।