काठमाडाँै,जेन–जी विद्रोहपछि मुलुकको लगानी वातावरण कमजोर बनेको देखिएको छ । क्लिकमान्डु डटकमले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार विद्रोहका कारण ९८ प्रतिशत लगानीकर्ताको मनोबल प्रभावित भएको उल्लेख छ । यस्तै ९७ प्रतिशतले लगानी वातावरण नै कमजोर बनेको महसुस गरेका छन् ।‘जेन–जी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण २०८२’ शीर्षकमा तयार पारेको अध्ययन प्रतिवेदन आइतबार राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले सार्वजनिक गरेका थिए । २०८२ भदौ २३ र २४ मा भएको जेन–जी विद्रोहका क्रममा सरकारी तथा निजी क्षेत्रका महत्वपूर्ण संरचना र सम्पत्तिमा आगजनी र तोडफोड भएको थियो ।
यस क्रममा निजी क्षेत्रले ठूलो मात्रामा भौतिक क्षतिसँगै गहिरो मनोवैज्ञानिक आघात बेहोरेको अध्ययनले देखाएको छ । अध्ययनमा उद्योग, वित्तीय, पर्यटन, ऊर्जा, शिक्षा, स्वास्थ्य, निर्माण तथा सेवा क्षेत्रका एक सय २१ जना ठूला लगानीकर्ता सहभागी थिए ।डिजिटल माध्यमबाट भराइएको प्रश्नावलीमा सहभागीमध्ये ५० प्रतिशतभन्दा बढी लगानीकर्ताको कुल लगानी ५ अर्ब रुपैयाँभन्दा माथि रहेको छ । ४६ प्रतिशतको उद्योग क्षेत्रमा र ३७ प्रतिशतको वित्तीय क्षेत्रमा लगानी रहेको अध्ययनमा उल्लेख छ ।सर्वेक्षणअनुसार ४६ प्रतिशत व्यवसायीले प्रत्यक्ष भौतिक तथा आर्थिक क्षति बेहोरेका छन् । सहभागी व्यवसायीहरूको कुल भौतिक क्षति करिब २५ अर्ब रुपैयाँ पुगेको छ भने प्रति व्यवसायी औसत क्षति ४४ करोड रुपैयाँ देखिएको छ । २१ प्रतिशत व्यवसायीको व्यावसायिक प्रतिष्ठानसँगै व्यक्तिगत घर र सवारी साधनमा समेत आक्रमण भएको प्रतिवेदनमा उल्लेख छ । अध्ययनले ६७ प्रतिशत व्यवसायीमा गम्भीर मनोवैज्ञानिक क्षति परेको र ५४ प्रतिशतको बजार गतिविधि प्रभावित भएको देखाएको छ । लगानीकर्ताको मनोबलमा परेको प्रभाव विश्लेषण गर्दा ९८ प्रतिशतले सामान्यदेखि अत्यधिक असर परेको बताएका छन् ।