देशको अर्थतन्त्र लामोसमयदेखि दुई प्रकारले चलिरहेको देखिन्छ । यस्तो अवस्था रहेको झण्डै आधादशकको हाराहारीमा पुगेको छ । अब आन्तरिक पनि सुधारिन्छ भनेर अर्थमन्त्रीले सधैँ भनिरहन्छन् अर्थात् भन्दै आरहेका छन् तर झन् पछिल्ला वर्षका पछिल्ला दिनहरूमा आन्तरिक सुधारका सूचकहरू खराबतर्फ नै बढिरहेको देखिन्छ । चालु आर्थिक वर्षको पहिलो छ महिनालाई मात्रै आधार मान्ने हो भने कुरा उही हो । जस्तो यो अवधिमा बाहृयतर्फका सुधारका संकेतहरू अघिल्लो वर्षको तुलनामा झन् राम्रा देखिएका छन् तर आन्तरिक भने त्यस्तै अघिल्लो वर्षको यही समयको तुलनामा झन् खराब  । यस्तो किन भइरहेको छ र यस्तो अवस्थाले देशको आर्थिक क्षेत्रलाई कस्तो परिणाम देला भन्ने अब चाहिँ गम्भीर रूपमा बहस गर्नुपर्ने बेला भएको देखिन्छ । निश्चय नै बाहृयक्षेत्र राम्रो भएको सकारात्मक हो । तर त्यसबाट भरपुर उपलब्धी लिनका लागि आन्तरिक क्षेत्र पनि सुध्रनुपर्छ नै । आन्तरिकतर्फका जे–जे संकेतहरू नकारात्मक रहिरहन्छन् त्यस्तो बेला बाहृय सुध्रिएको अवस्थाले मात्रै परिणाम दिनसक्ने स्थिति नरहला । नेपाल राष्ट्र बैंकले अघिल्लो हप्तामात्रै बाहृय सुधारको चित्र प्रस्तुत गरेको छ  । जसमा चालु वर्षको छ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत आर्थिक वर्षको यही अवधिको तुलनामा यस वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ३९.१ प्रतिशतले बढेको देखिन्छ । गत वर्ष यही समय अर्थात् पहिलो छ महिनामा रेमिट्यान्स आप्रवाह ४.२ प्रतिशतले बढेको थियो । ४.२ प्रतिशतले बढेको अवस्थामा त्यसमा झन् बढेर ३९.१ प्रतिशत पुग्नुभनेको निश्चय नै सामान्य कुरा होइन ।  यसको स्रोत भनेको वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्नु पनि हो । यसका साथै नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको विनिमय दर आकासिएको स्थिति पनि पर्छ । चालु आवको छैटौँ महिना पुसमा मात्र करिब दुई खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको देखियो । गत आर्थिक वर्षको पुसमा एक खर्ब २२ अर्ब ४४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । मासिक रूपमा दुई खर्बको रेमिट्यान्स मुलुकमा भित्रिएको अवस्था छ । रेमिट्यान्स भित्रिने क्रम यही दरमा कायम रहे सरदर वार्षिक २४ अर्ब बन्न आउँछ । विदेशी मुद्रा सञ्चितिको हिसाबले यो विवरण धेरै राम्रो हो । यसले बाहृयक्षेत्र झन्झन् मजबुत बन्दैगएको भन्ने नै बुझाउँछ । तर त्यसको प्रयोग भने कसरी हुन्छ भन्ने प्रश्न अहिले पनि उठेकै छ । खातामा पैसा बढ्नु मात्रैले ठोस उपलब्धी दिन नसक्ला । जसरी चालु आर्थिक वर्षको पहिलो छ महिनामा बाहृय अर्थ सुध्रिएको देखियो त्यही रूपमा आन्तरिक भने बिग्रिएको देखिन्छ । चालु खर्च बढ्नु र पुँजीगत खर्च घट्नु नियती जस्तै बनेको कुरा नै यो पटक पनि दोहोरिएको छ । चालु आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट विनियोजन गरेको थियो । गत पुससम्म नौ खर्ब चार अर्ब ६४ करोड ४३ लाख खर्च भएको अर्थ मन्त्रालयको तथ्यांकले देखाएको छ । चालु वर्ष चालु शीर्षकमा ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन भएको अवस्था छ । पुससम्म ४०.८२ प्रतिशत अर्थात् चार खर्ब ८२ अर्ब १० करोड ८० लाख चालुतफ खर्च भयो । अघिल्लो वर्षको तुलनामा चालु खर्च तीन दशमलव ३५ प्रतिशतले वृद्धि भएको हो ।यस वर्षकालागि सरकारले पुँजीगत शीर्षकमा चार खर्ब सात अर्ब ८८ करोड ८० लाख रुपैयाँ विनियोजन गरेको थियो । गएको पुससम्म अर्तात् छ महिनामा ४७ अर्ब ५४ करोड पुँजीगत भएको देखिन्छ । भनेको यो वार्षिक लक्ष्यको ११.६६ प्रतिशत हो अघिल्लो वर्षको तुलनामा पुँजीगत खर्च चार दशमलव ८६ प्रतिशतले घटेको देखिन्छ । यो वर्षका लागि सरकारले कुल १४ खर्ब ४० अर्ब राजस्व उठाउने लक्ष्य राखेको थियो । यसअनुसार पुस मसान्तसम्ममा सात खर्ब ११ अर्ब २० करोड ७९ लाख राजस्व उठाउने लक्ष्य राखेकोमा पाँच खर्ब ८१ अर्ब ४० करोड ७२ लाख बराबर मात्रै राजस्व उठेको अवस्था पनि राम्रो होइन ।