काठमाडौँ, सरकारले गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको छानबिन गर्न गठित जाँचबुझ आयोगको समयावधि पुनः थप गर्ने निर्णय गरेको छ । आयोगको दोस्रो पटक थप गरिएको म्याद बुधबार सकिने भएपछि तेस्रोपटक म्याद थप गरिएको हो । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उक्त आयोगको म्याद २५ दिन थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
मन्त्रिपरिषद्को गत असोज ५ गतेको बैठकले भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । त्यतिबेला आयोगले तीन महिनाको कार्यादेश पाए पनि काम पूरा गर्न नसकेपछि गत पुस ८ मा मन्त्रिपरिषद् बैठकले १ महिना थप गरेको थियो ।
सो अवधिमा समेत काम पूरा नभएपछि माघ ८ मा पुनः २० दिन म्याद थपिएको थियो । बैठकले राष्ट्रिय आर्थिक गणना–२०८२ को तथ्यांक संकलन गर्ने आदेश २०८२ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्ले नेपाल सरकारको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने निर्णय गरेको मन्त्री अर्यालले जानकारी दिए ।