फागुन २१ को चुनाव अब नजिक नै आइसक्यो । देशको भौगोलिक अवस्थाले फागुन महिना चुनावका लागि युपयुक्त मानिँदैन । देशमा लोकतान्त्रिक पद्धतिअनुसार सम्पन्न हुन लागेको यो नवौँ महानिर्वाचन हो । यो महिनामा चुनाव सम्पन्न भएको आजसम्मको रेकर्ड छैन । २०१५ सालको आमनिर्वाचन बाहेक देशमा अरु सबै निर्वाचन करिब–करिब आवधिक नै हँुदै आएको छ । २०४८ को निर्वाचन वैशाखमा सम्पन्न भएको, संविधानसभाको पहिलो निर्वाचन बाहेक पछिल्लो अर्थात् संविधानसभापछिको दोसं्रो आमनिर्वाचन पनि मंसिरको सेरोफेरोमा भएका छन् । यो पटक भने फागुन महिना किन रोजियो होला भन्ने प्रश्न छँदैछ । यो चुनाव भइरहेको संसद् विघटन गरेर हुन लागेको हो । किन नवनियुक्त प्रधानमन्त्रीले यो दिनलाई रोजेका हुन् भन्ने विस्तारै खुल्दै जाला । यो मितिको छनोटले त्यसबेला यो निर्वाचन गराउन होइन भनेर भनिएको अवस्था थियो तर अब हेर्दाहेर्दै मुलुक निर्वाचनमय भइसकेको छ । निर्वाचन गराउन गठन भएको नागरिक भनिएको सरकारका सदस्यहरूले पनि सरकरा छाडेर कुनै दल रोजेर उम्मेदवार बनेकाबाट पनि अब निर्वाचन नजिक आएको नै बताउँछ ।
यी मानवीय कुरा भए तर चुनावका लागि कतिपय भूभागमा मौसम अनुकूल छैन । यो अपर्झट आइपरेको मौसमी अवस्था होइन । पहाडी र तराईका भूभागमा मतदानका लागि खासै समस्या नभए पनि उच्च पहाडी र हिमाली भूभागमा भने यतिबेला पनि हिमपात ग्रस्त छन् । उच्च पहाडी र हिमाली भूभागका नागरिकहरू आफ्नो स्थलमा छैनन् । जाडो छल्नका लागि भनेर उनीहरू आफ्ना पशुधनसहित तल्लो भूभागमा आइसेका छन् । यस्तो बेला यो भूभागमा चुनाव हुन कठिन हुने देखिएको अवस्था छ । उच्च पहाडी तथा हिमाली भूभागमा चैतसम्मै अत्यधिक हिउँ पर्छ । यो चालु वर्षको मात्र कुरा होइन । अहिले पनि कतिपय उम्मेदवारहरू आफ्ना मतदातासमक्ष भोट माग्न बेजिल्लामा धाइरहेका भन्ने समाचार आइरहेका छन् । जुन ठाउँमा मतदाताहरू नै हुँदैनन् ती ठाउँमा मतदानस्थल बनाएर वा बुथ राखेरमात्र नहोला । प्रधानमन्त्री सुशीला कार्कीले भने सबै क्षेत्रमा मतदान गर्नका लागि सरकारले सक्दो प्रयत्न गर्ने दावी गरिरहेकै देखिन्छ । प्रधानमन्त्री कार्कीले सुझाएअनुसार कठिन भूभागहरूमा यातायातका साधन प्रयोग गरी मतदाताहरूलाई मतदान स्थलसम्म ल्याउन सकिने छ । थोरै ठाउँ भएका भूभागमा सवारी साधनबाट मान्छे ओसारेर पनि गर्न सकिन्छ । हुनै नसक्ने अवस्था हो भने त्यही रूपबाट विचार हुन्छ । कहिँ रोकियो भने सरकारले दोस्रो पटक गराउँछ । तर निर्वाचन चाहिँ जसरी पनि हुन्छ ।
प्रधानमन्त्रीले भने जस्तो प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदातालाई सहभागी गराउने मान्छे ओसार्ने कुराभने त्यति सहज छैन । त्यसको उदाहरण मुस्ताङ जिल्लाको अवस्था हेरे हुन्छ । अहिलेसम्म फागुन २१ मा हुने निर्वाचका लागि मुस्ताङमा ३९ वटा मतदान केन्द्र कायम गरिएको बताइएको छ । अरू दृष्टिले सबै मतदान केन्द्र तथा मतदानस्थल सामान्य छन् तर हिमपात भने ठूलो समस्याका रूपमा रहेको आकलन छ । हिमापतबाट प्रभावित हुने मतदाताहरूको संख्या ठूलो छ । जस्तो बुथहरू घरपझोङमा दुई हजार चार सय ९२, थासाङमा दुई हजार नौ सय आठ, लोघेकर दामोदरकुण्डमा एक हजार पाँच सय ४२, बारागुङ मुक्तिक्षेत्रमा दुई हजार तीन सय ७६ र लोमान्थाङ गाउँपालिकामा दुई हजार ११ जना मतदाता छन् । यी मतदाता बढी हिउ परेका खण्डमा मत हाल्न जाने अवस्था हँुदैन । यो संख्यालाई मतदानस्थलसम्म पु¥याउन र ल्याउन कति साधन चाहिन्छ अनुमान गर्न सकिन्छ । बढी हिमपात हुने अरू जिल्लाको पनि अवस्था यस्तै हो । सरकारले यसको पूर्व अनुमान गरोस् ।