काठमाडाँै। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।पार्टी मुख्यालय पेरिसडाँडामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा आगामी पाँच वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखिएको छ । यस्तै बहुआयामिक गरिबी १० प्रतिशतमा झार्ने र अर्थतन्त्रलाई आयात–निर्भर तथा उपभोगमुखी मोडलबाट उत्पादनमुखी, आत्मनिर्भर र समाजवाद उन्मुख मोडलमा रूपान्तरण गर्ने प्रतिबद्धता गरिएको छ । ‘नयाँ चरणको आर्थिक सुधार’ र सामाजिक न्यायसहितको समृद्धि विशेष जोड दिएर पार्टीले स्वाधिन र समृद्ध नेपाल निर्माणको मार्गचित्र तयार गर्ने गर्ने अग्रसरता लिएको छ । राजनीतिक स्थायित्व, सुशासन र परिणाममुखी प्रशासनका लागि विशेष पहल गर्ने प्रतिबद्धता पत्रमा व्यक्त गरिएको छ ।घोषणापत्रअनुसार भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र ऊर्जा क्षेत्रमा रणनीतिक योजना कार्यान्वयन गरी विशेष उपलब्धि हासिल गर्ने लक्ष्य लिइएको छ । सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहकार्यमा तीनखम्बे आर्थिक नीति अवलम्बन गर्ने उल्लेख छ । नेकपाले विगतका नवउदारवादी नीतिका कारण अर्थतन्त्र आयात–निर्भर, गैरउत्पादनमुखी र असमान भएको निष्कर्ष निकालेको छ । व्यापार घाटा, अनुत्पादक बजेट खर्च, सिन्डिकेट, सहकारी तथा गैरसरकारी क्षेत्रमा नियमन अभावका कारण आर्थिक संकट गहिरिँदै गएको घोषणापत्रमा उल्लेख छ । प्रतिबद्धतापत्रमा आगामी ५ वर्षभित्र वार्षिक १० प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखिएको छ । सो अवधिमा बहुआयामिक गरिबीको दर २०.१५ प्रतिशतबाट घटाएर १० प्रतिशतमा झार्ने लक्ष्य प्रस्तुत गरिएको छ । प्राकृतिक स्रोतहरूको विवेकशील, दिगो र उत्पादनमुखी उपयोग, स्वदेशी र वैदेशिक लगानीमा वृद्धि, सामूहिकता र सहकारितामा आधारित उत्पादन प्रणालीको विकास र विस्तार, स्रोतसाधनको दक्षतापूर्ण विनियोजन, खर्च क्षमतामा उल्लेख्य वृद्धि, उत्पादन तथा रोजगारी वृद्धि, समावेशी विकास र वैकल्पिक वित्त परिचालनमार्फत आगामी पाँच वर्षभित्र (दोहोरो अंकको) १० प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर हासिल गरिने घोषणापत्रमा उल्लेख छ ।यस्तै आगामी पाँच वर्षमा प्रतिवर्ष पाँच लाख रोजगारी सिर्जना गर्ने, कम्तीमा एक लाख वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलतामा आबद्ध गर्ने लक्ष्य पनि घोषणापत्रमा समावेश गरिएको छ । कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै आगामी दशकलाई ‘कृषि लगानी दशक’ घोषणा गर्ने, दुई वर्षभित्र प्रमुख खाद्यान्न तथा दुग्धजन्य उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने र एक वर्षभित्र सबै किसानलाई किसान परिचयपत्र वितरण गर्ने उल्लेख छ । यस्तै ऊर्जा क्षेत्रमा पाँच वर्षभित्र १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने, राष्ट्रिय प्रणालीको क्षमता १५ हजार मेगावाट पु¥याउने र दीर्घकालमा शतप्रतिशत हरित ऊर्जा प्रयोग गर्ने लक्ष्य लिइएको छ । सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जन हासिल गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा उल्लेख छ । स्वास्थ्य क्षेत्रमा हाल करिब ३० प्रतिशतमा सीमित स्वास्थ्य बीमालाई वि.सं. २०८८ सम्म शतप्रतिशत पु¥याइने, गरिब तथा असहाय नागरिकको बीमा प्रिमियम राज्यले व्यहोर्ने व्यवस्था प्रभावकारी बनाइने उल्लेख गरिएको छ । प्रतिबद्धता पत्रमा विज्ञान तथा प्रविधि र नवप्रवर्तनलाई देशको समग्र रूपान्तरणको प्रमुख आधार बनाइने उल्लेख छ ।