काठमाडौं । काठमाडौंको न्युरोडस्थित शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष निरहरिप्रसाद उपाध्यायले एक व्यक्तिको लाखौँ रकम ठगी गरेका छन् । उनी सुदूरपश्चिमको बझाङ जिल्ला साबिक जयपृथ्वी नगरपालिका ४ (हाल परिवर्तित जयपृथ्वी नगरपालिका ४)का स्थायी बासिन्दा हुन् । हाल काठमाडौंको बूढानीलकण्ठ २ मा बस्दै आएका उनले एक व्यक्तिबाट ४२ लाख २० हजार रुपैयाँ ठगी गरेर फरार भएका हुन् । उनीविरुद्ध प्रहरीले जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी गरेको छ । उपाध्यायबाट पीडित भएका व्यक्ति सुरज भण्डारी उपाध्याय विद्यालय पढ्दादेखिका साथी हुन् । लामो समय वैदेशिक रोजगारीका लागि जापानमा बसेर आएका भण्डारीबाट न्युरोडकै शुक्रपथ बहुउद्देश्यीय सहकरारीको व्यवहार मिलाउन भन्दै ४२ लाख २० हजार रुपैयाँ रकम लिएका थिए । चक्रपथस्थित द बर्गर हाउस एन्ड क्रन्ची फ्राइ चिकेन नामको रेस्टुरेन्टको हिसाब समेत मिलाउन भन्दै आफूसँग यतिका रकम लिएर लामो समयदेखि फिर्ता नगरेको र आफूले बैंकिङ कसुरमा जाहेरी दिएको पीडितले बताएका छन् । उपाध्यायले भण्डारीलाई आफ्नो एकल हस्ताक्षरबाट चल्ने गरिमा बैंकको न्युरोड शाखाको (खाता नम्बर ०४८१०४००७५२८७००००००१ , चेक नम्बर ००११६६७१६१ बाट) भुक्तानी गर्नु भन्दै २०८१ ऋसार १३ गतेको मितिमा साटिने गरी ४२ लाख २० हजारको चेक दिएको पीडितको भनाइ छ । उक्त चेक भुक्तानीका लागि पटक–पटक बैंकमा पेस गर्दा रकम नभएकाले बाउन्स गरेको र बैंकिङ कसुरको जाहेरी दिएको उनले बताएका छन् । गत साउन ९ गते जाहेरी दर्ता भएको भए पनि प्रहरीले पुस २१ गते मात्रै पक्राउ अनुमति निकालेको छ । पक्राउ अनुमति निकालेको २ दिनपछि नै उपाध्यायलाई फेला नपरेको भन्दै प्रहरी प्रतिवेदनसहित अदालतमा मुद्दा बुझाइएको छ ।