काठमाडौं, माघ २८ । संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमान्डका कमान्डर एडमिरल स्यामुएल पापारो बिहीबार तीनदिने औपचारिक कार्यक्रमअन्तर्गत नेपाल आउँदैछन् । नेपाली सेना सम्बद्ध स्रोतका अनुसार एडमिरल पापारो र उनको प्रतिनिधिमण्डल विशेष विमानबाट काठमाडौं अवतरण गर्नेछन् । नेपाल बसाइको क्रममा उनले वरिष्ठ नेपाली अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।कमान्डर पापारो आफ्नो औपचारिक कार्यक्रमको एक भागको रूपमा पाँचखालमा रहेको नेपाली सेनाको वीरेन्द्र शान्ति सञ्चालन तालिम केन्द्रको पनि भ्रमण गर्ने छन् ।
पापारोको यो भ्रमणले नेपाल र संयुक्त राज्य अमेरिकाबीचको दशकौँ लामो द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउने गरिएको छ । भ्रमणले मानवीय सहायता, विपत् व्यवस्थापन र विश्वव्यापी शान्ति स्थापना पहलहरूलगायत साझा हितका क्षेत्रहरूमा बढ्दो सहयोग र क्षमता अभिवृद्धि प्रयासहरूलाई समर्थन गर्ने अपेक्षा नेपाली सेनाले गरेको छ । टोली फागुन २ गते नेपालबाट फिर्ता हुने बताइएको छ ।